विभिन्न स्थानबाट ठूलो परिमाणमा लागूऔषधसहित २८ जना पक्राउ
काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध तथा नियन्त्रित लागूऔषधसहित २८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूबाट गाँजा, ब्राउनसुगर, अफिम, चरेस तथा विभिन्न नियन्त्रित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ।
उदयपुरमा १९९ किलोभन्दा बढी गाँजा बरामद
उदयपुरको कटारी नगरपालिका–४ मरुवा खोला नजिकबाट प्रहरीले १९९ किलो ३२० ग्राम गाँजासहित २१ वर्षीय सोम मगरलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना.७ ख ८१७३ नम्बरको टिपर जाँच गर्दा ढालाभित्र ९ वटा बोरामा लुकाएर राखिएको गाँजा फेला पारेको हो।
चितवनमा १६८ किलो गाँजासहित दुई पक्राउ
चितवनको राप्ती नगरपालिका–१० चिप्लेटीबाट करिब १६८ किलो गाँजासहित नवलपरासी पूर्वका ५१ वर्षीय दिल्लीराम थारू र चितवनका ३६ वर्षीय कर्णबहादुर तामाङ पक्राउ परेका छन्। प्रहरीले बा.प्र.०३–०१–०२३ च ५८२८ नम्बरको कार जाँच गर्ने क्रममा गाँजा बरामद गरेको जनाएको छ।
काठमाडौंमा ब्राउनसुगर र ट्रामाडोल बरामद
कीर्तिपुर नगरपालिका–३ मा कोठा तलासी गर्दा कञ्चनपुर शुक्लाफाँटाका २३ वर्षीय बिरेन्द्र टमटाबाट ६ ग्राम ८३० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थ बरामद भएको छ।
यस्तै, काठमाडौं महानगरपालिका–३२ जडिबुटीबाट मकवानपुर घर भएका १९ वर्षीय राकेश मोक्तानलाई ३५० ट्याब्लेट ट्रामाडोल र नगद ८ हजार ५०० रुपैयाँसहित पक्राउ गरिएको छ।
धनुषामा स्पास्मो प्रोक्सिभनसहित पक्राउ
जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलबाट प्रहरीले ३८ वर्षीय संजय मुखियालाई १६ ट्याब्लेट स्पास्मो प्रोक्सिभनसहित पक्राउ गरेको छ।
कैलालीमा ब्राउनसुगरसहित तीन पक्राउ
गोदावरी नगरपालिका–२ अत्तरियास्थित पूर्वेली मःमः कर्नर एण्ड लजबाट ५ ग्राम ९० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित देव साउद, अभिषेक चौधरी र हेमराज पन्त पक्राउ परेका छन्।
झापामा पनि लागूऔषधसहित पक्राउ
झापाको अर्जुनधारा नगरपालिका–६ महानन्द चोकबाट १ ग्राम ४७० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित २१ वर्षीय सन्जोक लुइटेल पक्राउ परेका छन्। प्रहरीले उनले प्रयोग गरेको मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।
कचनकवल गाउँपालिका–१ बनियाभिट्टाबाट १ ग्राम २० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धिरेन केरुङ, नानुङ लिम्बु, दिपेश माझी र मिना राई रहेका छन्।
त्यस्तै, बिर्तामोड नगरपालिका–६ स्यालडाँगीबाट ३४ वर्षीय पदम चौधरीलाई २९० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित पक्राउ गरिएको छ।
विमानस्थलबाट ८ किलोभन्दा बढी गाँजासहित दुई विदेशी नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले म्यान्मारका दुई नागरिकलाई ८ किलो २३८ ग्राम गाँजासहित पक्राउ गरेको छ। थाइल्याण्डबाट नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं आएका २७ वर्षीया Aye Thida Aung र २९ वर्षीया Nay Thu Rein पक्राउ परेका हुन्।
कपिलवस्तुमा अफिम र चरेस बरामद
कृष्णनगर नगरपालिका–२ पुरानो बसपार्कबाट प्रहरीले १० किलो ३६४ ग्राम अफिमजस्तो पदार्थ र ५ किलो २२५ ग्राम चरेसजस्तो पदार्थसहित रतिमा रोका समेत पाँच जनालाई पक्राउ गरेको छ। उनीहरू नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।
अन्य स्थानबाट पनि लागूऔषध बरामद
सुर्खेतको वीरेन्द्रनगरबाट १ ग्राम ४७० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित तीन जना पक्राउ परेका छन्।
पर्साको छिपहरमाई गाउँपालिका–५ भिष्वाबाट ५ किलो गाँजाजस्तो पदार्थसहित भारतका दुई नागरिक पक्राउ परेका छन्।
सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानबाट ११ किलो १२० ग्राम गाँजासहित २८ वर्षीय चरन राई पक्राउ परेका छन्।
यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट १०० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित ३० वर्षीय राकेश बिष्ट पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका सबै घटनामा आवश्यक अनुसन्धान भइरहेको छ। बरामद पदार्थको वास्तविक प्रकृति तथा तौल सम्बन्धित परीक्षणपछि थप पुष्टि हुने प्रहरीले जनाएको छ।


प्रतिक्रिया