धरानको आविस्कार केन्द्रलाई बजेट छुट्याउन साम्पाङ्गले गरे मन्त्रि पुन: लाई आग्रह
काठमाडौं । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई धरानमा आविष्कार केन्द्र स्थापनाका लागि बजेट विनियोजन गर्न आग्रह गरेका छन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत मन्त्री पुनलाई सम्बोधन गर्दै धरान आविष्कार केन्द्रका लागि आफूले बजेट माग गरेको बताएका हुन्। उनले आविष्कार तथा नवप्रवर्तनका क्षेत्रमा देखिने काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री पुनलाई धरानतर्फ लाग्न आग्रह गरेका छन्।
उनले लेखेका छन्, “धरान आविष्कार केन्द्रको लागि बजेट माग गरेको छु ! महावीर दाजु, लु त्यता लागौँ ! चाउचाउ पकाइराखेर, ढिँडो उरालेर खाएर मन्त्रालयमै सुतेर मात्रै जुनी नबितोस् ! देखिने काम गरौँ !”
साम्पाङले आफ्नो अभिव्यक्तिमा राष्ट्रियसभामा निदाएको विषय अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको प्रसंगसमेत उल्लेख गरेका छन्। उनले चर्चामा सीमित हुनुभन्दा परिणाम देखिने काम गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
धरानमा आविष्कार केन्द्र स्थापना भए स्थानीय स्तरमा विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका गतिविधिलाई प्रोत्साहन गर्न सकिने साम्पाङको भनाइको आशय छ। उनले त्यसका लागि आवश्यक बजेट तथा सरकारी सहयोग जुटाउन आफूले पहल गरिरहेको संकेत गरेका छन्।
साम्पाङको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्। उनको भनाइले विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा सरकारी लगानी र प्राथमिकताबारे बहससमेत अघि बढाएको छ।
प्रतिक्रिया