एउटै शवमा तीन परिवारको दाबी, डीएनए परीक्षणबाट पहिचान गरिँदै
पोखरा । भोटेकोशी बाढीले बगाएर ल्याएका १ सय २ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएका छन्। तीमध्ये केही शव सग्ला नभएकाले पहिचानमा कठिनाइ भएको छ।
हालसम्म कपडा, गहना, ट्याटु तथा शरीरका विभिन्न चिन्हका आधारमा आफन्तले शव पहिचान गर्दै आएका छन्। तर एउटै शवलाई तीन परिवारले आफ्नो आफन्त भएको दाबी गरेपछि पहिचानमा समस्या भएको छ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार उक्त शवको डीएनए निकालिएको छ। डीएनए परीक्षणपछि मात्र शव कसको हो भन्ने यकिन हुनेछ।
संकलित १ सय २ शवमध्ये ४६ वटाको पोस्टमार्टम भइसकेको छ। पोस्टमार्टम गरिएका १० शव पहिचान भएपछि आफन्तले बुझिसकेका छन्। पहिचान हुन नसकेका शवको व्यवस्थापन गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

शव पहिचानका लागि फिंगरप्रिन्ट र बायोमेट्रिक विधिबाट समेत प्रयास भइरहेको छ। तर अधिकांश शव क्षतविक्षत अवस्थामा रहेकाले यो विधिबाट पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया