महावीर पुनको झापा अनुभव: झापालीहरू त सोझा किसान रहेछन्!
राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनको लक्ष्यसहित आफ्नो आत्मकथा "सपना, सङ्घर्ष र आविष्कार" बिक्री गर्दै देशव्यापी यात्रामा रहेका डा. महावीर पुन झापा जिल्लामा तीन साता बिताएर फर्किंदा भावुक र हास्यव्यङ्ग्य मिश्रित अनुभव बाँडिरहेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्:
“तीन हप्ता किताव बेच्दा मैले बुझें—झापालीहरू त सोझा किसान रहेछन्। अरू जिल्लाका मान्छेहरूले झापालीहरूलाई फटाहा भन्छन् भन्ने सुनिन्थ्यो, तर त्यो ठिक होइन। सोझा भएर नै त म जस्तो हावा र झुसे मान्छेको किताब किनिरहेका छन्।”
झापाको गौरादह र दमकमा पुग्दा महावीर पुनको स्वागतमा विभिन्न संघसंस्थाहरू एकजुट देखिए। सारथि युवा क्लब, लायन्स क्लब अफ गौरादह, लायन्स क्लब अफ गौरादह युनाइटेड लगायतका स्थानीय संस्थाहरूले उनको अभियानमा ऐक्यबद्धता जनाउँदै पुस्तक खरिदद्वारा सहयोग जनाए।
गौरादहमा आयोजित कार्यक्रममा स्थानीय समुदायले आत्मकथा खरिद गर्दै राष्ट्रिय आविष्कार केन्द्रको स्थायी सञ्चालनका लागि महावीर पुनको पहललाई साथ दिए। कार्यक्रममा उनले भने,
“म एउटा अभियान लिएर हिँडेको मान्छे हुँ। पुस्तक बेचेर पैसा उठाउने यो उपाय व्यावसायिक होइन, सेवामूलक अभियान हो। तपाईंहरू एकएक प्रति किन्नुहुन्छ भने त्यो मेरो लागि करोडौंको साथ हो।”
महावीर पुनले गौरादहका बासिन्दाहरू र संघसंस्थाहरूसँग आग्रह गरेका छन् कि आफूलाई नजिकबाट चिन्न, अभियान बुझ्न, र सकेसम्म एक-एक प्रति पुस्तक खरिद गरेर राष्ट्रिय आविष्कार केन्द्रको सपना साकार पार्न सहयोग गरिदिन।
यदि तपाईंहरू पनि यो अभियानमा सहभागी भई कार्यक्रम आयोजना गर्न चाहनुहुन्छ भने, डा. महावीर पुनसँग सिधा सम्पर्क राख्न सक्नुहुन्छ।
प्रतिक्रिया