दमकलाई आधुनिक सहर बनाउने प्रधानमन्त्री ओलीको घोषणा
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले दमक कम्प्लेक्सलाई आधुनिक विकासको नमूना भएको बताउनुभएको छ। उहाँले यो कम्प्लेक्स सञ्चालनमा आएपछि रोजगारी सिर्जना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
विश्वका ठूला देशहरूमा आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण हुने उल्लेख गर्दै प्रधानमन्त्रीले यो क्षेत्रलाई आधुनिक सहरका रूपमा विकास गर्ने घोषणा गर्नुभएको छ।
यसैबीच, आज प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले मेचीनगर नगरपालिका–४ आमडाँगीमा निर्माण गरिएको मानवसेवा आश्रम शाखा कार्यालयको उद्घाटन गर्नुभएको छ। साथै, आश्रमको बृहत् गुरुयोजनाको शिलान्याससमेत गर्नुभएको छ।
नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीका अनुसार, प्रधानमन्त्री ओली आज र भोलि झापामा विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ। ती कार्यक्रममा भवन उद्घाटन, शिलान्यास, खानेपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपत्र वितरण, र पार्टी गतिविधिसँग सम्बन्धित कार्यहरू समावेश छन्।
प्रतिक्रिया