जनप्रतिनिधि अहंकारी बन्नु भएन - प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरूलाई जनताप्रति सेवाभावका साथ उत्तरदायी बन्नुपर्नेमा जोड दिएका छन्।
ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा, प्रधानमन्त्री ओलीले जनप्रतिनिधि र कर्मचारीहरूलाई घमण्ड र तनाव त्यागेर जनताको सेवकको रूपमा प्रस्तुत हुनुपर्ने बताएका हुन्। उनले नगर प्रहरीको प्रशंसा गर्दै भने, “नगर प्रहरी आतङ्कको पर्याय नभई रक्षकको पर्याय बन्नुपर्छ। जनताले प्रहरी देख्दा डराउनु होइन, सुरक्षित महसुस गर्नुपर्छ।
प्रधानमन्त्री ओलीले ‘शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनु पर्छ’ भन्दै घमण्ड र तनावबाट मुक्त भएर जनताको सेवामा समर्पित हुन आग्रह गरे। उनले थपे, “हामी जनताका सेवक हौँ। घमण्ड लिने र दिने काम गर्नु हुँदैन। सबैले जातीय विविधताको सम्मान गर्दै राष्ट्रिय एकता र सुशासनयुक्त समृद्ध नेपालको निर्माणमा लाग्नुपर्छ।”
प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि देशमा पूर्वाधार विकास, रोजगारी वृद्धि र ठूला उद्योगहरूको स्थापना भएको बताए। ‘अवस्था बदलिएन’ भन्ने भ्रममा नपर्न सचेत गराउँदै उनले वर्तमान सरकार गरीब र कमजोर जनताको अभिभावकको रूपमा प्रस्तुत भएको पनि बताए।
प्रधानमन्त्रीले विसं २०८२ सम्म नेपाललाई सडक मानवमुक्त बनाउने सरकारको योजना सुनाए। उनले विगतमा आफू प्रधानमन्त्री हुँदा नौ लाख जनतालाई निरपेक्ष गरिबीको रेखामुनिबाट माथि उठाइएको स्मरण गर्दै अबको सरकार थप प्रतिबद्ध भएर लागिपरेको जनाए।
अन्त्यमा, प्रधानमन्त्री ओलीले देशको वर्तमान चुनौतीहरू समाधान गर्दै केही वर्षभित्र नेपाललाई समृद्ध बनाउने लक्ष्यमा सरकार दृढताका साथ अघि बढिरहेको बताए। उनले सबैलाई समावेशी र उत्तरदायी भएर विकासको अभियानमा सहभागी हुन आग्रह गरे।
प्रतिक्रिया