गौरादहमा लागु औषध दुर्व्यसनीविरुद्ध जागरूकता अभियान: अन्तरक्रिया कार्यक्रम सम्पन्न
गौरादह, झापा, २०८१ जेठ १३ - गौरादह नगरपालिकाको आयोजनामा मंगलबार लागु औषध दुर्व्यसनी सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक विकास शाखाका अधिकृत सातौं गजेन्द्र भुजेलको संचालनमा भएको उक्त कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख जलवर्षा राजवंशीले गर्नुभयो।कार्यक्रममा झापा जिल्ला सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदी, सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन थापा, गौरादह नगरपालिकाका सम्पूर्ण वडा अध्यक्षहरू, इलाका प्रशासन कार्यालय गौरिगञ्जका प्रमुख शिवपु प्रभेदी, इलाका प्रहरी कार्यालय गौरिगञ्जका प्रमुख भुवनबाबु खड्का, सशस्त्र प्रहरी निरीक्षक अपार प्याकुरेल, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरू, नगरपालिकाका विषयगत शाखा प्रमुखहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, पत्रकारहरू, कर्मचारीहरू र स्थानीय भद्र महिला तथा सज्जनवृन्दको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रम राष्ट्रिय गानबाट सुरु भयो। प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदीले स्वागत मन्तव्य राख्दै लागु औषध दुर्व्यसनीले समाजमा पार्ने नकारात्मक प्रभाव र यसको नियन्त्रणमा सामुदायिक सहभागिताको महत्त्वबारे प्रकाश पार्नुभयो। कार्यक्रमको उद्देश्यबारे जानकारी प्रदान गर्दै लागु औषधको दुरुपयोग रोक्न र युवाहरूलाई सही मार्गमा डोर्याउन सामूहिक प्रयासको आवश्यकता औंल्याइयो।एकी भण्डारीले प्रस्तुतीकरणमार्फत लागु औषधको प्रयोग, यसले समाज र व्यक्तिमा पार्ने असर, र नियन्त्रणका उपायहरूबारे विस्तृत जानकारी दिनुभयो। प्रस्तुतीकरणपछि फ्लोर खुला गरिएको थियो, जहाँ सहभागीहरूले जिज्ञासा राखे र सम्बन्धित जवाफ प्राप्त गरे।कार्यक्रममा अतिथि र विशिष्ट अतिथिहरूले मन्तव्य राख्दै लागु औषध दुर्व्यसनीविरुद्ध सचेतना फैलाउन र युवाहरूलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।स्थानीय समुदाय, विद्यालय, प्रहरी प्रशासन, र संघ-संस्थाहरूको सहभागिताले यो कार्यक्रमले लागु औषध दुरुपयोगविरुद्धको अभियानमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। गौरादह नगरपालिकाले यस्ता जागरूकता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया