रबि र बालेन सँगै जोडिए कुलमान, भए रास्वपा उपसभापति
काठमाडौँ, पुष १४
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकता सम्बन्धी सहमति भएको छ। परिवर्तित राजनीतिक परिस्थितिमा वैकल्पिक र सुशासनमुखी शक्तिलाई बलियो बनाउने उद्देश्यसहित दुई पक्षबीच सहमति भएको हो।
सहमति अनुसार एकता पश्चात् दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ। पार्टीको झन्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रङको घण्टी रहनेछ भने चुनाव चिन्ह ‘घण्टी’ नै कायम रहने जनाइएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ।
नेतृत्व संरचनाअनुसार रवि लामिछाने पार्टीको केन्द्रीय सभापति रहनेछन्। उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्लेलाई राखिने सहमति भएको छ।
सहमति पत्रमा २०८२ साल भदौ २३ र २४ मा सम्पन्न जेन–जी आन्दोलनलगायत विभिन्न जनआन्दोलनका शहीद तथा घाइते परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सुशासन, योग्यताप्रणाली (मेरिटोक्रेसी) र डेलिभरीमा आधारित राजनीतिक अभ्यासलाई प्राथमिकता दिने उल्लेख गरिएको छ।
उज्यालो नेपाल पार्टीका युवा अभियन्ता तथा विज्ञहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको संगठनात्मक संरचनामा समुचित रूपमा समायोजन गरिने र जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने सहमतिमा उल्लेख छ।
सहमति कार्यान्वयनका लागि सम्बन्धित दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिने र अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई पनि सहकार्यका लागि आव्हान गर्ने निर्णय गरिएको छ।


प्रतिक्रिया