“प्रतिशोध होइन, हिसाब हुन्छ” - २०४६ पछिका काण्ड खोतल्ने रवि लामिछाने को चेतावनी
काठमाडौं, १२ फागुन — चुनावी माहोल तातिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले २०४६ सालपछिका सबै भ्रष्टाचार काण्डको छानबिन गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले “प्रतिशोध होइन, हिसाब हुन्छ” भन्ने सन्देशमार्फत पुराना राजनीतिक शक्तिमाथि कडा संकेत गरेका हुन्।

लामिछानेले प्रजातन्त्र पुनर्स्थापनापछि भएका भ्रष्टाचार प्रकरणहरूलाई लक्षित गर्दै सत्ता र शक्तिको आडमा उम्किएका घटनाहरू पुनः खोलिने दाबी गरे। “छानबिन हुन्छ, तर प्रतिशोध हुँदैन,” भन्दै उनले आफ्नो अभियानलाई बदला होइन, जवाफदेहिताको प्रक्रियाका रूपमा चित्रित गरे।
उनले लघुवित्त र सहकारी क्षेत्रका समस्यालाई पनि प्राथमिकतामा राख्ने बताए। बचतकर्ताको रकम डुबेको विषयमा कठोर कदम चालिने संकेत गर्दै उनले प्रश्न गरे — “रवि लामिछानेलाई थुन्नेबाहेक कसैले एक रुपैयाँ पायो?”

रास्वपाको नेतृत्वमा सरकार बने १०० दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता गर्न सुरु गर्ने दाबी उनले दोहोर्याए। यससँगै सुकुमवासी समस्यालाई पनि दीर्घकालीन समाधानतर्फ लैजाने वाचा गरे।
“यो अन्तिमपटक हुन्छ,” भन्दै उनले समस्या समाधानका लागि दिनगन्ती सुरु गर्ने चेतावनी दिए।

लामिछानेको यो अभिव्यक्ति परम्परागत दलविरुद्ध असन्तुष्ट मतदातालाई आकर्षित गर्ने रणनीतिका रूपमा हेरिएको छ। २०४६ पछिको राजनीतिक यात्रालाई प्रश्न गर्दै उनले आफूलाई ‘सफाइ अभियान’ का नेतृत्वकर्ता रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन्।
प्रतिक्रिया