गोल्डेन सनराइज माविले मनायो ३२औँ वार्षिकोत्सव
गौरादह, झापा - गौरादह–१ स्थित गोल्डेन सनराइज मावि ले आफ्नो ३२औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। २०५० सालमा स्थापना भएको विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन र अतिरिक्त क्रियाकलापमा गौरादह क्षेत्रमै उत्कृष्टता कायम गर्दै आएको छ।

आइतवार सम्पन्न कार्यक्रममा विद्यालय निर्देशक गणेश कुमार श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा कार्यवाहक नगर प्रमुख जलवर्षा राजवंशी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।
कार्यक्रममा कन्चनजङ्घा माविका प्रधानाध्यापक भवानी प्रसाद पाठक, भानुभक्त एकेडेमीका संस्थापक प्रधानाध्यापक गणेश कार्की, सारथी युवा क्लबका अध्यक्ष गोबिन्द कंडेल, प्याब्सन गौरादहका अध्यक्ष बाबुराम तिम्सिना, प्रज्वल कलेजका प्रमुख सुरेन्द्रमुर्ती पन्त र नगर स्काउटका प्रमुख आयुक्त बद्री अधिकारी अतिथिका रूपमा उपस्थित थिए।

विशिष्ट अतिथिका रूपमा गौरादह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद सुवेदीले कार्यक्रममा सहभागिता जनाउनु भएको थियो।
सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण

वार्षिकोत्सवको मुख्य आकर्षण विद्यार्थीहरूको अन्तरसदन नृत्य, नाटक र गायन प्रतियोगिता थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा वर्षभरि उत्कृष्ट शैक्षिक र सांस्कृतिक योगदान गर्ने विद्यार्थीहरूलाई पुरस्कार र सम्मान प्रदान गरिएको थियो।
विद्यालय संयोजक रोहित आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रमुख अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए। प्रधानाध्यापक राजकुमार कार्कीले विद्यालयको भविष्य योजनाबारे जानकारी गराउनुभयो भने गोबिन्द कंडेलले युवाहरूमा सिर्जनात्मक सोच र सामाजिक उत्तरदायित्व जागृत गर्न विद्यालयले खेलेको भूमिका औँल्याउनुभयो।
कार्यक्रमको सञ्चालन सान नेपाल र रोहित आचार्यले गर्नुभएको थियो।
३२ वर्षको शिक्षण यात्रा
३२ वर्षको शिक्षण यात्रा र सांस्कृतिक उत्सवले गोल्डेन सनराइज मावि लाई गौरादहमा उत्कृष्ट विद्यालयको पहिचानमा अझ मजबुत बनाएको छ। विद्यालयले अबको दिनमा पनि गुणस्तरीय शिक्षा, विद्यार्थीको सर्वाङ्गीण विकास र सामाजिक उत्तरदायित्वमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया