इश्वर खत्रीका सात भिजन, अध्यक्ष उम्मेदवार उद्योग वाणिज्य संघ
गौरादहका परिचित युवा व्यवसायी इश्वर खत्री हाल नोबेल डेन्टल अस्पताल गौरादहका सञ्चालकका रूपमा सक्रिय छन्। सामाजिक तथा व्यवसायिक क्षेत्रमा निरन्तर क्रियाशील खत्री यसअघि गौरादह उद्योग वाणिज्य संघको महासचिवको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका अनुभवी व्यवसायी हुन्।
उनकै कार्यकालमा आधुनिक तथा सुविधा सम्पन्न अतिथि सदन निर्माणको काम सम्पन्न भएको थियो, जसलाई संघको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिन्छ।
व्यवसायीहरूको हकहितका लागि निरन्तर सक्रिय खत्रीले कर सम्बन्धी तालिम, वित्तीय सचेतना कार्यक्रम तथा व्यवसायीहरूले भोग्ने कानुनी जटिलतामा व्यक्तिगत रूपमा साथ र सहयोग गर्दै आएका छन्। साना तथा मझौला व्यवसायीका समस्यालाई नजिकबाट बुझेका कारण पनि अहिलेको निर्वाचनमा उनको उम्मेदवारीलाई व्यवसायीहरूबीच चासोका साथ हेरिएको छ।
उद्योग वाणिज्य संघ गौरादहका अध्यक्ष पदका उम्मेदवार इश्वर खत्रीसँग पर्दाफास प्रतिनिधिले गरेको कुराकानी
प्रश्न १: अध्यक्ष पदमा उम्मेदवारी दिने प्रेरणा के हो ?
इश्वर खत्री: गौरादहको व्यापार व्यवसायलाई अझ व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले उम्मेदवारी दिएको हुँ। साना तथा मझौला व्यवसायीका समस्या नजिकबाट बुझेको छु। अब व्यवसायीको हकहितका लागि प्रत्यक्ष काम गर्ने समय आएको महसुस भयो।

प्रश्न २: तपाईंको अनुभवले यो जिम्मेवारीमा कत्तिको सहयोग पुर्याउँछ ?
इश्वर खत्री: मैले यसअघि महासचिवको जिम्मेवारी सम्हाल्ने अवसर पाएँ। त्यो अवधिमा व्यवसायीका समस्या, संघ सञ्चालनको चुनौती र सम्भावनाबारे धेरै सिक्ने मौका मिल्यो। हाम्रो कार्यसमितिले आधुनिक र सुविधा सम्पन्न अतिथि सदन निर्माण गर्न सफल भयो, जुन हाम्रो टिमवर्कको उदाहरण हो। यही अनुभवले आगामी नेतृत्व अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास लिएको छु।
प्रश्न ३: तपाईंको समूहले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा मुख्य प्राथमिकता के छन् ?
इश्वर खत्री: हाम्रो मुख्य प्राथमिकता बजारको आधुनिकीकरण, व्यवसायीको प्रवर्द्धन र विकास, वित्तीय साक्षरता, क्षमता विकास तालिम र व्यवसायमैत्री वातावरण निर्माण हो। साथै उपभोक्तामैत्री बजार र संस्थागत पारदर्शितालाई पनि विशेष जोड दिएका छौं।

प्रश्न ४: व्यवसायीहरूको हकहितका लागि तपाईंले यसअघि के–कस्ता काम गर्नुभएको छ ?
इश्वर खत्री: व्यवसायीहरूलाई कर सम्बन्धी जानकारी दिन विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका थियौं। कतिपय व्यवसायीहरू कानुनी तथा प्रशासनिक झमेलामा पर्दा व्यक्तिगत रूपमा साथ र सहयोग गर्ने काम पनि गर्दै आएका छौं। व्यवसायीको समस्या आफ्नै समस्या ठानेर काम गरेको अनुभव छ।
प्रश्न ५: गौरादहका व्यवसायी अहिले सबैभन्दा ठूलो समस्यामा के छन् ?
इश्वर खत्री: अहिले व्यवसायीहरू आर्थिक मन्दी, असुरक्षित बजार वातावरण र घट्दो व्यापारबाट प्रभावित छन्। साना व्यवसायी अझ बढी समस्यामा छन्। हामी सबै व्यवसायीलाई संघभित्र समेटेर साझा समाधान खोज्ने पक्षमा छौं।

प्रश्न ६: निर्वाचित भएपछि पहिलो प्राथमिकता के हुनेछ ?
इश्वर खत्री: पहिलो काम व्यवसायीहरूको वास्तविक तथ्यांक संकलन गरेर उनीहरूको समस्या पहिचान गर्ने हुन्छ। त्यसपछि व्यवसायीमैत्री योजना, तालिम र सहजीकरण कार्यक्रम ल्याइनेछ। संघलाई सबैको साझा संस्था बनाउने हाम्रो लक्ष्य हो।
प्रश्न ७: मतदातालाई के भन्न चाहनुहुन्छ ?
इश्वर खत्री: यो निर्वाचन केवल नेतृत्व चयन मात्र होइन, गौरादहको व्यवसायिक भविष्य तय गर्ने अवसर पनि हो। सम्पूर्ण व्यवसायी साथीहरूलाई विवेकपूर्ण निर्णय गर्दै हाम्रो “स्वतन्त्र साझा समूह” लाई सहयोग गरिदिन आग्रह गर्दछु।

प्रतिक्रिया