रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी विजयी
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाको प्रथम अधिवेशनबाट सभापतिमा ओमनाथ भण्डारी विजयी भएका छन् । शनिबार झापाको विर्तामोडमा भएको अधिवेशनबाट प्रतिस्पर्धी लक्ष्मण बस्नेत र अजुर्न मैनालीलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् । भण्डारीले ३४१ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बस्नेतले २४७ र मैनालीले २५ मत प्राप्त गरेका थिए ।

अधिवेशनबाट उपसभापतिमा पुष्प ढकाल निर्वाचित भएका छन्। ढकालले २१० मत प्राप्त गरे। उनका प्रतिस्पर्धी शान्ता तामाङले १९८ मत, लिला खड्काले १११ मत र देव संग्रौलाले ९३ मत प्राप्त गरेका थिए। उपसभापतिको प्रतिस्पर्धा निकै रोचक बनेको थियो भने अन्ततः ढकालले झिनो मतान्तरसहित विजय भए ।
त्यस्तै, सचिव पदमा विरोध सुवेदी निर्वाचित भएका छन्। सुवेदीले ३६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रविन खड्काले २३५ मत पाए। सहसचिव पदमा भने भिमबहादुर कुँवर ३५२ मतसहित विजयी बने। उनका प्रतिस्पर्धी राजेन्द्र खनालले १९३ मत र लक्ष्मीप्रसाद रेग्मीले ७४ मत प्राप्त गरेका थिए। जातीय आधारतर्फको सदस्य पदमा राजनारायण राजवंशी २१२ मतसहित निर्वाचित भए। उक्त पदमा प्रतिस्पर्धा गरेका सन्तोष मेचे र सराब शेख मियाँले समान १८६–१८६ मत प्राप्त गरेका थिए। समान मत आए पनि राजवंशीले अग्रता कायम राख्दै सदस्य पदमा स्थान सुरक्षित गरेका हुन्।

खुला तथा महिला सदस्यतर्फ पनि प्रतिस्पर्धा उल्लेख्य देखिएको थियो। डिल्ली न्यौपाने २२९ मत, शान्तिमाया न्यौपाने २१४ मत र मुना सापकोटा ११९ मतसहित निर्वाचित भएका छन्। यस समूहमा ११ जनाको उम्मेदवारी परेको थियो। अन्य उम्मेदवारमध्ये पवन गिरीले २१५, दिवाकर मैनालीले १८०, नन्दकुमार चुडालले १२८, नरेन्द्र राईले ११६, नरेन्द्र शिवाकोटीले ९३, भेषराज ओलीले ८६, चेतकुमार खनालले ८०, बालकृष्ण खतिवडाले ५७ तथा प्रेमप्रसाद खरेलले २६ मत प्राप्त गरेका थिए।
अधिवेशनले क्षेत्रीय नेतृत्वसमेत चयन गरेको छ। क्षेत्र नम्बर १ को सभापतिमा कमल गौतम, क्षेत्र नम्बर २ मा गोपाल कट्वाल, क्षेत्र नम्बर ३ मा कमल बानियाँ, क्षेत्र नम्बर ४ मा लिलामाया बस्नेत तथा क्षेत्र नम्बर ५ मा चुणामणि पाठक निर्वाचित भएका छन्। रास्वपा झापाको पहिलो जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै जिल्लामा पार्टी संगठन सुदृढीकरण, सदस्यता विस्तार र आगामी निर्वाचनको तयारीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। पार्टीको उदयसँगै झापामा बढ्दो राजनीतिक सक्रियताबीच नयाँ नेतृत्वले संगठनलाई कसरी अघि बढाउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया