श्रावण २५ २०८३, सोमबार

होर्मुज जलडमरूमध्य खोल्न इरानका कडा सर्त : अमेरिका पछि हट्नुपर्ने माग

काठमाडौं । इरानले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पुनः खोल्न अमेरिकासमक्ष कडा सर्तहरू अघि सारेको छ। इरानी नेतृत्वले अघि सारेका माग पूरा गर्न अमेरिका तयार भए त्यसलाई तेहरानको दृष्टिमा ठूलो राजनीतिक र रणनीतिक सफलता मानिने देखिन्छ।

इरानको उच्चस्तरीय राष्ट्रिय हितसम्बन्धी नीति निर्धारण गर्ने सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाले तत्काल इरानसँगको युद्ध तथा आफ्ना ‘सशस्त्र सहयोगी’विरुद्धको सैन्य कारबाही अन्त्य गर्नुपर्ने माग गरेको छ।

त्यससँगै अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र आफ्नो सैन्य उपस्थिति फिर्ता लैजानुपर्ने इरानको माग छ। युद्धका क्रममा भएको क्षतिको पूर्ण क्षतिपूर्ति, इरानमाथिका प्रतिबन्ध हटाउने तथा विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने मागसमेत तेहरानले अघि सारेको छ।

इरानले अघि सारेका मागको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको होर्मुज जलडमरूमध्यमाथिको आफ्नो नियन्त्रणलाई रणनीतिक दबाबका रूपमा प्रयोग गर्नु हो।

इरानको रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी)का प्रवक्ता ब्रिगेडियर जनरल होसेन मोहेब्बीले होर्मुज अब केवल अन्तर्राष्ट्रिय जलमार्गको विषय नभई ‘शक्ति र युद्धको साधन’ बनेको बताएका छन्।

यस अभिव्यक्तिले खाडी क्षेत्रमा जारी तनावको गहिराइ झल्काउँछ। विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण यो जलमार्ग लामो समय अवरुद्ध वा सीमित भए त्यसको असर अन्तर्राष्ट्रिय बजार, तेलको मूल्य र विश्वव्यापी आपूर्ति शृंखलामा समेत पर्न सक्छ।

इरानले मागको लामो सूची सार्वजनिक गरे पनि अमेरिकाले हालसम्म त्यसको औपचारिक जवाफ दिएको छैन। यसअघि भने अमेरिकी पक्षले होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा नआएसम्म इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी कायम रहने धारणा सार्वजनिक गरेको थियो।

यसले तेहरान र वासिङ्टनबीचको वार्ता सहज नभएको संकेत गर्छ। एकातर्फ इरानले अमेरिकी सैन्य दबाब अन्त्य, प्रतिबन्ध हटाउने र क्षतिपूर्तिको माग गरिरहेको छ भने अर्कोतर्फ अमेरिका जलमार्ग खुलाउन इरानमाथि दबाब कायम राख्न खोजिरहेको देखिन्छ।

यसैबीच संयुक्त अरब इमिरेट्सले होर्मुज जलडमरूमध्यमा एउटा ट्याङ्करमाथि भएको आक्रमणमा इरानी क्षेप्यास्त्र प्रयोग भएको आरोप लगाएको छ। उक्त घटनामा मानवीय क्षति नभएको बताइएको छ।

यद्यपि, युद्धअघि जस्तो सामान्य अवस्थामा जलमार्गबाट हुने जहाज आवागमन भने निकै घटेको बताइएको छ। इरान र ओमानबीच जलडमरूमध्यमा सुरक्षित आवागमनका सम्भावित मार्गबारे छलफल अघि बढिरहेको संकेत पनि आएका छन्। ओमानले दुवै पक्षसँग सम्बन्ध कायम राख्दै मध्यस्थताको भूमिका खेलिरहेको छ।

लामो समयदेखि जारी सैन्य संघर्षका कारण अमेरिकामाथि पनि दबाब बढ्दै गएको संकेत देखिएका छन्। अमेरिकी संयुक्त सेनाका प्रमुख जनरल ड्यान केनले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारहरूसँग संघर्षबाट बाहिरिने सम्भावित बाटो खोज्नुपर्ने धारणा राखेको स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

युद्धमा लामो दूरीका क्षेप्यास्त्र तथा क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको ठूलो प्रयोग भइरहेकाले अमेरिकी रणनीतिक स्रोतमा समेत दबाब परेको चर्चा छ।

आईआरजीसीका प्रवक्ता मोहेब्बीले भने इरानले तुलनात्मक रूपमा कम खर्चिला हतियार प्रयोग गरेर अमेरिकाका महँगा सैन्य प्रणालीलाई चुनौती दिएको दाबी गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानमाथि थप कडा कारबाहीको चेतावनी दिँदै आएका छन्। खार्ग द्वीपजस्ता रणनीतिक स्थान कब्जा गर्ने धम्कीसमेत दिएका थिए।

तर, पछिल्लो समय मध्यपूर्वी सहयोगी राष्ट्रहरूको चिन्ता तथा सम्भावित दीर्घकालीन युद्धका कारण अमेरिकी रणनीतिमा केही लचकता आउन सक्ने संकेत देखिएका छन्।

यसबीच इरानले अघि सारेका सर्तहरू हेर्दा वार्तामा बस्नुअघि नै अमेरिकालाई ठूलो राजनीतिक र सैन्य ‘मूल्य’ चुकाउनुपर्ने अवस्था सिर्जना गर्न खोजिएको देखिन्छ।

यदि तेहरानका सबै माग स्वीकार गरिएमा त्यसलाई इरानको ठूलो कूटनीतिक विजयका रूपमा हेरिनेछ। तर अमेरिका ती माग स्वीकार गर्न तयार नभए होर्मुज जलडमरूमध्य विश्व ऊर्जा बजारलाई प्रभावित पार्ने सबैभन्दा ठूलो रणनीतिक दबाबको केन्द्र बन्ने जोखिम कायमै छ।

अब मुख्य प्रश्न यही छ—होर्मुज खोल्न अमेरिका झुक्ला कि इरानमाथिको दबाब अझ बढाउँदै लैजाला? आगामी दिनमा हुने कूटनीतिक वार्ता र सैन्य गतिविधिले मध्यपूर्वको मात्र होइन, विश्व अर्थतन्त्रकै दिशासमेत निर्धारण गर्न सक्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार