शुभलक्ष्मी सहकारीको २८ औं वार्षिक प्रतिवेदन सार्वजनिक, असोज ३ गते साधारण सभा
गौरादह। शुभलक्ष्मी सहकारी संस्थाले आगामी असोज ३ गते २८औँ वार्षिक साधारणसभा गर्ने भएको छ। साधारणसभाको तयारी, आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण तथा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र प्रस्तावित आय–व्ययबारे संस्थाले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा हासिल गरेको वित्तीय तथा संस्थागत प्रगति, सदस्यलाई उपलब्ध गराइएका सुविधा, सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम तथा आगामी वर्ष सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।
संस्थाको विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म कुल शेयर सदस्य संख्या ३ हजार ५९७ पुगेको छ। तीमध्ये महिला सदस्य १ हजार ९४६, पुरुष सदस्य १ हजार ६४४ र संस्थागत सदस्य ७ जना रहेका छन्। संस्थाले गौरादहस्थित मुख्य कार्यालयसँगै बैगुन्धुरा र चप्रामारीमा सदस्य सेवा केन्द्र सञ्चालन गर्दै आएको जनाएको छ।
संस्थाको आर्थिक विवरणअनुसार असार मसान्तसम्म शेयर पुँजी ८ करोड ३९ लाख ८९ हजार ४ सय रुपैयाँ पुगेको छ। यस्तै संस्थाको जगेडा कोषमा ५ करोड ४१ लाख २० हजार ४५ रुपैयाँ र अन्य कोषमा २ करोड १९ लाख ७ हजार २ सय ५९ रुपैयाँ रहेको जनाइएको छ।
संस्थाको कुल दायित्व ६४ करोड ६१ लाख ५१ हजार ९ सय ७४ रुपैयाँ रहेको छ भने कुल सम्पत्ति ८१ करोड ४३ लाख ५८ हजार ६ सय २५ रुपैयाँ पुगेको संस्थाले जनाएको छ।
सदस्यहरूको आर्थिक गतिविधि तथा व्यवसाय विस्तारका लागि संस्थाले ४२ करोड ९७ लाख १४ हजार ३ सय ५० रुपैयाँ सदस्यलाई ऋण लगानी गरेको जनाएको छ। त्यस्तै संस्थाको कर्जा सुरक्षण कोषमा ३२ लाख ७० हजार ३ सय ६६ रुपैयाँ रहेको विवरण सार्वजनिक गरिएको छ।

पत्रकार सम्मेलनमा पत्रकारहरूले संस्थाको विगतको कर्जा लगानी, बीमा व्यवस्था, निर्वाचन, ऋण नोक्सानी व्यवस्थापन तथा डिपार्टमेन्ट स्टोरको मूल्यलगायत विषयमा प्रश्न उठाएका छन्।
पत्रकारको जिज्ञासाको जवाफ दिँदै संस्थाका अध्यक्ष प्रकाश कार्कीले २०७२ सालभन्दा अगाडि मोटरसाइकल धितोमा कर्जा प्रवाह गर्ने योजना सञ्चालन गरिएको र उक्त कर्जा अहिले जोखिमयुक्त बन्न पुगेको स्वीकार गरे।
कार्कीका अनुसार मोटरसाइकल धितो राखेर कर्जा लिएका तर ऋण नतिर्ने केही ऋणीको खोजी गर्दा उनीहरूसँग सम्पर्कसमेत हुन नसकेको अवस्था छ। सावाँ र ब्याज जोड्दा उक्त जोखिमयुक्त कर्जाको रकम ९२ लाख ४३ हजार ४ सय ९० रुपैयाँ पुगेको उनले जानकारी दिए।
पत्रकारले संस्थाको भल्ट तथा काउन्टरको बीमा गरिएको भए पनि मार्गस्थल बीमा नगरिएको विषयमा समेत प्रश्न गरेका थिए। जवाफमा अध्यक्ष कार्कीले संस्थाको आसपास बैंक तथा वित्तीय संस्थाहरू धेरै रहेकाले मार्गस्थल बीमा त्यति आवश्यक नदेखिएको बताए। हालसम्म सुरक्षाको दृष्टिले त्यस्तो ठूलो चिन्ता नदेखिएको उनको भनाइ थियो।
यस्तै, संस्थाको उपाध्यक्ष पदमा मात्रै निर्वाचन हुने अवस्था आएको र उक्त पदमा समेत सर्वसम्मत गराउन पर्याप्त पहल नभएको हो कि भन्ने पत्रकारको प्रश्नमा कार्कीले सर्वसम्मतिका लागि प्रयास भइरहेको बताए।
“भरसक सर्वसम्मत गर्ने प्रयास भइरहेको छ, अझै पनि प्रयासमै छौँ,” कार्कीले भने, “केही लागेन भने निर्वाचनको विकल्प नहुने देखियो।”
पत्रकारले NFRS 9 Financial Instruments अन्तर्गत ऋण नोक्सानी व्यवस्था तथा नियामक निकायको प्रावधानअनुसार लेखांकन गर्नुपर्ने अवस्थामा संस्थाले Expected Credit Loss (ECL) Model मा जान नसकेको विषयमा समेत प्रश्न गरेका थिए।
उक्त प्रश्नको जवाफ दिँदै संस्थाका उपाध्यक्ष भीम विजय बाँस्तोलाले ECL मोडलको विषय व्यवहारिक पक्षसँग जोडिएको बताए। उनले दैनिक रूपमा हुने संस्थाको आम्दानीलाई करको दायरामा दैनिक रूपमै ल्याउने विषय व्यवहारिक रूपमा कसरी सम्भव हुन्छ भन्ने प्रश्न जटिल रहेको तर्क गरे।
पत्रकारहरूले संस्थाले सञ्चालन गरेको डिपार्टमेन्ट स्टोरमा बजारको तुलनामा कतिपय सामान महँगो देखिनुको कारण समेत सोधेका थिए।
जवाफमा संस्थाका व्यवस्थापक तिलक कार्कीले सहकारीको डिपार्टमेन्ट स्टोर भ्याटमा आबद्ध भएर सञ्चालन भएकाले गैरभ्याट सामान खरिद गरेर बिक्री गर्न सम्भव नभएको बताए।
उनका अनुसार बजारमा कतिपय सामान भ्याट छलेर ल्याइने भएकाले त्यस्ता सामानको मूल्य तुलनात्मक रूपमा कम देखिन सक्छ। त्यसको तुलनामा संस्थाको स्टोरले कानुनी रूपमा भ्याटसहितको कारोबार गर्नुपर्ने भएकाले मूल्य केही महँगो देखिएको व्यवस्थापक कार्कीको भनाइ थियो।
पत्रकार सम्मेलनमा उठेका यी प्रश्नहरूले सहकारीको विगतको कर्जा लगानी, जोखिम व्यवस्थापन, बीमा, वित्तीय लेखांकन, निर्वाचन प्रक्रिया तथा संस्थाले सञ्चालन गरिरहेको व्यवसायको मूल्य संरचनालगायत विषयमा संस्थाको आगामी कार्यदिशामाथि समेत चासो बढाएको छ।
सहकारीले सदस्यलाई बचत तथा ऋण सेवासँगै आधुनिक वित्तीय सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। सदस्यका लागि मोबाइल बैंकिङ, एसएमएस अलर्ट र क्यूआर कोडलगायतका सेवा सञ्चालनमा रहेको संस्थाले जनाएको छ।
त्यस्तै दुर्घटना मृत्यु बीमा, उपचार राहत, सदस्य मृत्यु राहत, सुत्केरी सुविधा तथा एम्बुलेन्स सेवामा छुटलगायतका सुविधा उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ। सदस्यलाई एक लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा तथा नीति र प्रचलित व्यवस्थाअनुसार उपचार सुविधा उपलब्ध गराइएको संस्थाले जनाएको छ।
आर्थिक वर्ष २०८२/०८३ मा सदस्य मृत्यु राहत, उपचार राहत, अग्निपीडित राहत, दुर्घटना मृत्यु बीमा र सुत्केरी सुविधालगायत शीर्षकमा ९ लाख ३८ हजार ४ सय ६० रुपैयाँ भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख छ।
सहकारीले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ। संस्थाको २८औँ स्थापना दिवसको अवसरमा गौरादह–९ स्थित जीवनज्योति आधारभूत विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो।
यस्तै, गौरादह बहुमुखी क्याम्पसलाई एक थान वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
संस्थाले सदस्य शिक्षा, सामाजिक सेवा, शैक्षिक प्रोत्साहन, स्वास्थ्य तथा उपचार सहयोग, दुर्घटना तथा मृत्यु राहत र विपद् राहतलगायतका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
संस्थाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा शेयर पुँजी विस्तारलाई प्राथमिकता दिने भएको छ। यसका लागि ५० हजार थान शेयर थप गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने तयारी गरिएको छ।
शेयर सदस्यको संख्या तथा शेयर पुँजी वृद्धि गर्दै संस्थाको वित्तीय आधार थप मजबुत बनाउने लक्ष्य लिइएको संस्थाले जनाएको छ।
संस्थाले उत्पादन तथा व्यवसायमूलक क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यले विशेष परियोजना कर्जा कार्यक्रम ल्याउने प्रस्ताव गरेको छ।
प्रस्तावअनुसार न्यूनतम तीन जना शेयर सदस्यको सामूहिक जमानतमा ५० लाखदेखि एक करोड रुपैयाँसम्म विशेष परियोजना कर्जा उपलब्ध गराउने योजना छ। यस्तो कर्जामा दुई वर्षसम्म ब्याजदर अपरिवर्तनीय रहने व्यवस्था प्रस्ताव गरिएको छ।
संस्थाले सदस्यको उद्यमशीलता तथा व्यवसाय विस्तारमा सहयोग पुग्ने गरी कर्जा लगानीलाई प्राथमिकता दिने जनाएको छ।
संस्थाले भाखा नाघेका ऋणी सदस्यबाट साँवा तथा ब्याज असुलीलाई आगामी वर्षको महत्वपूर्ण कार्ययोजनाका रूपमा अघि सारेको छ।
ऋण असुली तथा धितो लिलाम बिक्रीसम्बन्धी आन्तरिक कार्यविधिअनुसार प्रक्रिया अघि बढाउँदै वित्तीय अनुशासन कायम गर्ने प्रस्ताव गरिएको छ। तोकिएको समयमा ऋण भुक्तानी नगरे कानुनी प्रक्रियासमेत अघि बढाउने नीति प्रस्ताव गरिएको संस्थाले जनाएको छ।
संस्थाको नाममा रहेका केही जग्गा बिक्री गरी नगदमा परिणत गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गरिने भएको छ।
गौरादह–९ तथा घैलाडुब्बा क्षेत्रमा रहेका संस्थाका जग्गा प्रचलित मूल्य तथा प्रक्रिया पूरा गरी बिक्री गर्ने प्रस्ताव गरिएको हो। जग्गा बिक्रीबाट प्राप्त रकमलाई संस्थाको वित्तीय व्यवस्थापन तथा आवश्यक क्षेत्रमा उपयोग गर्ने उद्देश्य रहेको जनाइएको छ।
संस्थामा कार्यरत कर्मचारीको तलबमा २०८३ साल साउनदेखि लागू हुने गरी १० प्रतिशत वृद्धि गर्ने प्रस्ताव साधारणसभामा पेश गरिने भएको छ।
त्यस्तै सञ्चालक समिति, उपसमिति तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि वित्तीय साक्षरता, संस्थागत सुशासन, कर्जा व्यवस्थापन तथा अन्य विषयमा तालिम सञ्चालन गर्ने योजना अघि सारिएको छ।
सहकारीले आगामी वर्ष माध्यमिक तहमा अध्ययनरत विद्यार्थीबीच अन्तरमाध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला कार्यक्रम आयोजना गर्ने प्रस्ताव गरेको छ।
सदस्य शिक्षा, अवलोकन भ्रमण, शैक्षिक प्रोत्साहन पुरस्कार, सामाजिक सेवा, राहत तथा अन्य सदस्यकेन्द्रित कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने संस्थाले जनाएको छ।
संस्थाले सहकारी एकीकरणको सम्भावनालाई समेत आगामी नीतिमा समेटेको छ। संस्थाको कार्यक्षेत्रभित्रका सहकारी संस्थाबाट एकीकरणका लागि प्रस्ताव आएमा उपयुक्त ठहरिए आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारणसभामा पेश गरिने भएको छ।
साधारणसभामा सदस्यको सहभागिता बढाउने उद्देश्यले उपस्थित सदस्यलाई सामान खरिद कुपन उपलब्ध गराउने प्रस्तावसमेत गरिएको छ।
प्रस्तावअनुसार साधारणसभामा उपस्थित हुने सदस्यलाई कर कट्टीपछि एक हजार रुपैयाँ बराबरको सामान खरिद कुपन तथा अन्य सदस्यलाई पाँच सय रुपैयाँ बराबरको सामान खरिद कुपन उपलब्ध गराउने योजना छ। उक्त कुपन संस्थाले सञ्चालन गरेको सहकारी पसलबाट निश्चित समयभित्र सामान खरिदमा प्रयोग गर्न सकिने जनाइएको छ।
२८औँ वार्षिक साधारणसभाको अवसरमा विभिन्न विधामा सदस्य, कर्मचारी तथा विद्यार्थीलाई सम्मान गर्ने तयारी गरिएको छ।
उत्कृष्ट बचत तथा ऋण कारोबारी, नियमित बचतकर्ता, रेमिट कारोबार, बाल बचतकर्ता, महिला समूह, पसलबाट सामान खरिद, ज्येष्ठ सदस्य, पूर्वसञ्चालक, कर्मचारी तथा शुभलक्ष्मी शैक्षिक पुरस्कारलगायत विधामा ४० जनालाई सम्मान गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ।
पत्रकार सम्मेलनमा आगामी आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित आय–व्यय विवरणसमेत सार्वजनिक गरिएको छ। कोषाध्यक्षमार्फत प्रस्तुत विवरणअनुसार आगामी वर्ष कुल आय १० करोड ५५ लाख ७५ हजार रुपैयाँ हुने अनुमान गरिएको छ।
त्यस्तै कुल खर्च ५ करोड ४५ लाख ७० हजार रुपैयाँ हुने र २ करोड १३ लाख ५ हजार रुपैयाँ खुद नाफा हासिल गर्ने लक्ष्य राखिएको संस्थाले जनाएको छ।
संस्थाले आगामी साधारणसभाबाट शेयर वृद्धि, कर्जा विस्तार, ऋण असुली, सदस्य सुविधा, सामाजिक उत्तरदायित्व, कर्मचारी व्यवस्थापन तथा वित्तीय अनुशासनसँग सम्बन्धित प्रस्तावहरू पारित गरी कार्यान्वयनमा लैजाने तयारी गरेको छ।
असोज ३ गते हुने २८औँ वार्षिक साधारणसभाले शुभलक्ष्मी सहकारीको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा वित्तीय योजनालाई अन्तिम रूप दिनेछ।
प्रतिक्रिया