माउन्ट एभरेष्ट मा. वि. मा स्काउट क्याम्प फाइयरिङ
गौरादह १ स्थित माउन्ट एभरेष्ट मा. वि. स्काउट ट्रुपले दोश्रो वार्षिक क्याम्प फायरिङ कार्यक्रम आयोजना गरेको छ । विद्यालय परिसरमा सन्ध्याकालिन कार्यक्रम आयोजना गर्दै क्याम फायरिङलाई उत्सवको रूपमा मनाएको हो । शनिबार दिनभर विभिन्न गतिविधिहरु गर्दै सन्ध्याकालिन सत्र मार्फत कार्यक्रम सम्पन्न गरिएको माउन्ट स्काउट ट्रुप मास्टर सुभाष पाण्डेले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख छत्रपति सुवेदीले एक भव्य समारोह बिच कार्यक्रम उद्घाटन गर्नु भयो । कार्यक्रममा संक्षिप्त्त मन्तव्य राख्दै नगर प्रमुख सुवेदीले समाज रुपान्तरणमा स्काउटको भुमिकाको बारेमा चर्चा गर्नुभयो । नगर स्काउटका संरक्षक समेत रहेका वहाँले गौरादह नगरले स्काउटको बिकासमा निति निर्माण गरेरै अगाडि बढेको बताउदै विद्यालय क्षेत्रमा संगठित स्काउट ट्रुपहरु अझै परिस्कृत भएर अगाडि बढ्नुपर्ने सुझाव प्रदान गर्नुभयो ।
शुभकामना मन्तव्य राख्दै इस्टु केन्द्रीय सचिव यादव अधिकारीले स्काउटले सामाजिकिकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने चर्चा गरे ।
आफ्ना संक्षिप्त भनाइ राख्दै वडाध्यक्ष नगेन्द्र भण्डारीले स्काउटले विद्यार्थीहरु सैद्धान्तिक ज्ञान सँगै सामाजिक क्षेत्रमा शिक्षाको जागरण छर्न सक्षम रहेको बताए ।
नगर स्काउट संयोजक तथा नगर उप प्रमुख जलवर्षा राजवंशीले स्काउटको महत्त्व माथि चर्चा परिचर्चा गर्दै स्काउटले व्यवहारिक शिक्षालाई प्राथमिकता दिने बताइन् ।
कार्यक्रममा स्काउट कोशी प्रदेश आयुक्तहरु गंगा कार्की र समर्पण खतिवडा, राष्ट्रिय सहायक प्रशिक्षक नारायण श्रेष्ठ, वित्तीय आयुक्त सुस्मिता भुजेल, रोवर रेञ्जर लिडर निगेस नायाजु, गोल्डेन ट्रुप मास्टर प्रदीप पौडेल, बैगुन्धुरा ट्रुप मास्टर कोषराज गड्तौलाको विषेश उपस्थिति रहेको थियोे ।
औपचारिक कार्यक्रमको सञ्चालन माउन्ट एभरेष्ट मा. वि. ट्रुप मास्टर सुभाष पाण्डेले गरेका थिए ।
प्रतिक्रिया