माघ २३ २०८१, बुधवार

प्याब्सन झापाद्वारा सामाजिक विषय शिक्षण सुधारका लागि स्तरीय तालिम सम्पन्न

Ads


शिक्षाको गुणस्तर सुधार र सामाजिक विषय शिक्षणमा निखारता ल्याउने उद्देश्यले प्याब्सन झापाले एकदिने अन्तरक्रिया तथा अभिमुखीकरण तालिम आयोजना गरेको छ। झापा जिल्लाका विभिन्न संस्थागत विद्यालयमा कार्यरत करिब १५० सामाजिक विषय शिक्षकहरूको सहभागीता रहेको यो तालिम शिवसताक्षी नगरपालिका–झिलझिलेस्थित वाटर किङ्डम पार्कको सभाहलमा सम्पन्न भयो।

कार्यक्रमको उद्घाटन प्याब्सन केन्द्रीय उपाध्यक्ष नारायण घिमिरेले गर्नुभएको थियो। उहाँले सामाजिक विषयलाई अनिवार्य रूपमा नेपाली भाषामा अध्यापन गराउन सरकारले लागू गरेको नीतिले भाषा र विषयवस्तुबीच जटिलता उत्पन्न गराएको उल्लेख गर्नुभयो। विद्यार्थीहरूले यो विषयमा अपेक्षाभन्दा कम अङ्क प्राप्त गर्नुले सरोकारवालाहरूमा चिन्ता थपिएको र समाधानका लागि यस्ता तालिम कार्यक्रमहरूले महत्त्वपूर्ण योगदान दिने उहाँको धारणा थियो। उहाँले शिक्षकहरूलाई नविनतम शिक्षण विधिहरूको प्रयोग गरी भाषिक कठिनाइलाई हल गर्न प्रेरित गर्नुभयो।

Ads

प्याब्सन झापाका उपाध्यक्ष गौरिमान फाँगोको सभापतित्वमा सम्पन्न कार्यक्रममा सामाजिक विषय अध्यापनमा देखिएका चुनौतीहरूलाई व्यावहारिक समाधानमा रूपान्तरण गर्ने दिशामा गहन छलफल भएको थियो। तालिमको सहजीकरण लेखक सूर्यबहादुर गुरुङले गर्नुभएको थियो। बेदान्त प्रकाशन प्रा.लि. को सहकार्यमा आयोजित यस तालिमका व्यवस्थापक मनोज रेग्मीले कार्यक्रम इलामदेखि सुदूरपश्चिमसम्म विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।

कार्यक्रममा सहभागी शिक्षकहरूले यस्ता तालिमले उनीहरूको शिक्षण पद्धतिलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। आयोजकहरूले पनि आगामी दिनमा शिक्षकहरूको पेशागत विकासका लागि निरन्तर यस्ता कार्यक्रमहरूको आयोजना गरिने प्रतिबद्धता जनाए।

Ads

तालिमले झापा जिल्लाका सामाजिक विषय शिक्षकहरूमा नयाँ ऊर्जा र दक्षता अभिवृद्धि गरेको विश्वास गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार