आर्सनलले अन्तिम समयमा सिटीविरुद्ध बराबरी निकाल्यो
इमिरेट्स स्टेडियममा भएको प्रिमियर लिग खेलमा आर्सनलले अन्तिम समयमा गोल गर्दै म्यानचेस्टर सिटीसँग १–१ को बराबरी गरेको छ।
खेलको नवौं मिनेटमै एर्लिङ हालान्डले तिज्जानी रेजेन्डर्सको सहकार्यमा काउन्टर अट्याकमा गोल गर्दै सिटीलाई अग्रता दिलाए। त्यसपछि पेप गार्डियोलाको टोलीले सुरक्षात्मक खेल प्रस्तुत गर्यो।

दोस्रो हाफमा आर्सनलले बुकायो साका र एबेरेची एजेलाई मैदानमा उतारे पनि तत्काल प्रभाव जमाउन सकेन। तर अन्तिम समयमा एजेले डिफेन्स माथिबाट फालेको पासलाई मार्टिनेलीले जाली चुमाउँदै बराबरी गोल गरे र टोलीलाई हारबाट जोगाए।
बराबरीसँगै १० अंका जोडेको आर्सनल दोस्रो स्थानमा पुगेको छ। शीर्षस्थानमा रहेको साविक विजेता लिभरपुलभन्दा आर्सनल ५ अंकले पछि छ भने ७ अंकसहित सिटी नवौं स्थानमा झरेको छ।

यसअघि आइतबार नै बोर्नमाउथ र न्युक्यासल युनाइटेडबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो। दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। न्युक्यासल लगातार तेस्रो अवे खेलमा बराबरी खेल्न बाध्य भएको हो।
यस्तै, सन्डरल्यान्ड र एस्टन भिल्लाबीचको खेल पनि १–१ को बराबरीमा टुंगियो। म्याटी क्यासले ६७ औं मिनेटमा एस्टन भिल्लालाई अग्रता दिलाए भने विल्सन इसिदोरले ७५ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल गरे। खेलको ३३ औं मिनेटमा रेनिल्डो माण्डाभाले रातो कार्ड पाएपछि सन्डरल्यान्ड १० खेलाडीमा सीमित भएको थियो।

प्रतिक्रिया