भारतको सहज जित, पाकिस्तान ४० रनले पराजित
दुबई । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न सुपर फोर खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ। भारतका ओपनर शुभमन गिल र अभिषेक शर्माको शतकीय साझेदारीले जितको आधार तयार गरिदिएको हो।
भारतले पाकिस्तानले दिएको १७२ रनको लक्ष्य १८.२ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो। अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए भने शुभमन गिलले २८ बलमा ८ चौकासहित ४७ रन योगदान गरे। दुबै ओपनरले ९.५ ओभरमा १०५ रनको शतकीय साझेदारी गर्दै जित सहज बनाएका थिए। पाकिस्तानका हरिस रौफले २ विकेट लिए भने फहिम अशरफ र अब्रार अहमदले १–१ विकेट हात पारे।

यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। शहिबजादा फरानले ४५ बलमा ५८ रनसहित अर्धशतक प्रहार गरे भने फखर जमानले २१ रन बनाए। फहिम अशरफले ८ बलमा २० रन प्रहार गरे। तर सुरुवाती १० ओभरमा ९१ रन बनाएपछि पनि अन्तिम ओभरहरूमा रनको गति कायम राख्न नसक्दा पाकिस्तान मध्यम योगफलमै रोकियो।
भारतका शिबम दुबले २ विकेट लिँदा हार्दिक पान्ड्या र कुलदीप यादवले १–१ विकेट लिए। बुमराह भने विकेटविहीन रहे।

सुपर फोरमा यसअघि बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ। मंगलबार पाकिस्तान र श्रीलंका भिड्नेछन् भने बुधबार भारत र बंगलादेशबीच खेल हुनेछ। शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतिक्रिया