वैशाख ०१ २०८३, मंगलबार

राप्रपाका कोशी प्रदेश प्रवक्ता राउत द्वारा पार्टी परित्याग

Ads

 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता विजय राउतले पार्टीका सम्पूर्ण पद तथा साधारण सदस्यताबाट राजीनामा दिएका छन्।
राउतले जारी गरेको प्रेस विज्ञप्तिमा राप्रपाका मौलिक एजेन्डा संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य, राजनीतिक स्थिरता, राष्ट्रियता, सुशासन तथा सांस्कृतिक पहिचानलाई स्थापित गर्दै अघि बढ्नुपर्नेमा पछिल्लो समय पार्टीको कार्यदिशा र निर्णयहरू ती आधारभूत एजेन्डाहरूको विपरीत उन्मुख हुँदै गएको आफूले अनुभूति गरेको उल्लेख गरेका छन्।
उनले विशेषगरी वर्तमान राजनीतिक परिवेशमा उपसभामुख पदमा उम्मेदवारी दिने पार्टीको निर्णयप्रति गम्भीर असहमति जनाएका छन्। उक्त निर्णयले पार्टीको वैचारिक धरातल मात्र नभई समग्र राष्ट्रिय राजनीतिक स्थिरतालाई समेत कमजोर बनाउने संकेत गरेको उनको भनाइ छ।
पार्टीप्रति आफ्नो समर्पण र योगदान हुँदाहुँदै पनि राष्ट्रहितलाई सर्वोपरि राख्ने आफ्नो सिद्धान्तका कारण यस्तो निर्णय स्वीकार गर्न नसकिएको उनले बताएका छन्।
राउतले आजकै मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कोशी प्रदेश कार्यसमिति प्रवक्तासहित सम्पूर्ण पद, जिम्मेवारी तथा साधारण सदस्यता त्यागेको जानकारी दिएका छन्।
आगामी दिनमा आफ्नो ध्यान देश र जनताको हितमा केन्द्रित रहने तथा सुशासन, समृद्धि र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै अगाडि बढ्ने उनले उल्लेख गरेका छन्।

Ads

 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार