जेष्ठ १५ २०८३, शुक्रबार

सडक पूर्वाधारमा सरकारको ठूलो लगानी, पूर्व–पश्चिम राजमार्गदेखि सुरुङमार्गसम्म प्राथमिकता

Ads

 

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सडक तथा सहरी पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै २ खर्ब ८६ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री  ले शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै आगामी वर्ष करिब एक हजार किलोमिटर सडक कालोपत्रे र २७५ वटा सडक पुल निर्माण गरिने जानकारी दिए ।
सरकारले एक हजार २८ किलोमिटर लामो पूर्व–पश्चिम राजमार्गलाई पाँच वर्षभित्र चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ । यसै आर्थिक वर्ष कमला–कञ्चनपुर र नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नति सम्पन्न गरिने जनाइएको छ । पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
काठमाडौं–तराई मधेश द्रुतमार्गमा आगामी वर्ष ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरिने सरकारको घोषणा छ । उक्त आयोजनाका लागि १७ अर्ब ६४ करोड रुपैयाँ छुट्याइएको छ ।
हुलाकी राजमार्ग तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सरकारले ४ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरेको छ भने कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला–गमगढी सडक स्तरोन्नतिका लागि १ अर्ब रुपैयाँ व्यवस्था गरिएको छ ।
पुष्पलाल मध्यपहाडी राजमार्गका लागि २ अर्ब १६ करोड र मदन भण्डारी राजमार्गका लागि १ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सरकारले नागढुङ्गा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने घोषणा पनि गरेको छ । साथै टोखा–छहरे, मुलसाम–टोपला लगायत विभिन्न सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ ।
त्यस्तै, काठमाडौं चक्रपथ विस्तार अन्तर्गत कलंकी–बसुन्धरा खण्ड विस्तार सुरु गरिने तथा बसुन्धरा–चाबहिल–कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिने उल्लेख गरिएको छ ।
सडक मर्मत सम्भारलाई अभियानकै रूपमा सञ्चालन गर्न सरकारले २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको छ । पहिरो तथा जलवायुजन्य जोखिम न्यूनीकरणका लागि ३ अर्ब १७ करोड रुपैयाँ छुट्याइएको छ ।
महिलाको सुरक्षित यात्रालाई ध्यानमा राख्दै सिसी क्यामेरासहितको आधुनिक ब्लु बस सेवा सञ्चालन गर्ने व्यवस्था पनि सरकारले मिलाउने जनाएको छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार