जेष्ठ १५ २०८३, शुक्रबार

खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड बजेट, अन्तर्राष्ट्रिय पदक विजेतालाई आजीवन निःशुल्क उपचार

Ads

 

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री  ले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै खेलकुद पूर्वाधार विकास र खेलाडी प्रोत्साहनका विभिन्न कार्यक्रम घोषणा गरेका हुन् ।
सरकारले आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमता भएका १० वटा फुटबल रंगशालालाई फ्लड लाइटसहित स्तरोन्नति गर्ने योजना अघि सारेको छ । यस्तै, पाँच वर्षभित्र देशका प्रमुख आठ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने बजेटमा उल्लेख छ ।
विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लासहित प्रमुख सहरमा आगामी तीन वर्षभित्र कम्तीमा २ हजार दर्शक क्षमताका इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गरिने भएको छ ।
सरकारले मूलपानी क्रिकेट रंगशाला, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला तथा कैलालीको फाप्ला क्रिकेट रंगशालाको डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तय गर्ने जनाएको छ ।
खेलकुदमा विशेष क्षमता भएका विद्यार्थीलाई विद्यालय तहदेखि नै छनोट गरी आवासीय सुविधासहित प्रशिक्षण दिने व्यवस्था गरिने पनि बजेटमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडीलाई अवकाशपछि आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने सरकारको घोषणा छ ।
यसैगरी सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न तथा मधेश प्रदेशमा प्रस्तावित एघारौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्न पनि बजेट छुट्याइएको छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार