भदौ ०७ २०८३, आइतबार

सदस्यको आर्थिक समृद्धिदेखि सामाजिक उत्तरदायित्वसम्म, सिम्रिक साकोसको फराकिलो यात्रा

बिर्तामोड । झापाको बिर्तामोडमा स्थापित सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (सिम्रिक साकोस) पछिल्लो समय बचत तथा ऋण कारोबारमा मात्र सीमित नभई सदस्यलाई उद्यमशीलता, स्वरोजगार र सामाजिक सुरक्षासँग जोड्दै अघि बढिरहेको छ । झापा, इलाम र मोरङलाई कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको संस्थाले आर्थिक चुनौतीका बीच पनि सदस्यकेन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ ।

निम्न तथा मध्यम वर्गीय नागरिकको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यसहित स्थापित सिम्रिक साकोसले आफ्ना सदस्यलाई उद्यमशील बनाउने अभियानलाई तीव्रता दिएको छ । सदस्यलाई केवल बचतकर्ता र ऋणीका रूपमा सीमित नराखी कृषि, पशुपालन, लघु उद्यम, घरेलु उत्पादन, व्यापार–व्यवसाय तथा सीपमूलक कार्यक्रमसँग जोड्ने प्रयास भइरहेको संस्थाले जनाएको छ ।

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतका अनुसार सदस्यको क्षमता, रुचि र आवश्यकताका आधारमा उद्यम विकास कार्यक्रम सञ्चालन भइरहेका छन् । आवश्यक लगानी, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराएर सदस्यलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने लक्ष्य संस्थाले लिएको छ ।

“सदस्यको आर्थिक अवस्था सुधार गर्नु नै सहकारीको मुख्य उद्देश्य हो,” बस्नेतले भने, “त्यसैले बचत र ऋण कारोबारसँगै सदस्यलाई आयआर्जन र उद्यमसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिएका छौँ ।”

उद्यमशीलतामार्फत सदस्यको आम्दानी वृद्धि हुनुका साथै परिवारको जीवनस्तरमा समेत सकारात्मक प्रभाव पर्ने संस्थाको विश्वास छ । आगामी दिनमा सदस्यलाई सफल उद्यमीका रूपमा स्थापित गर्ने उद्देश्यले थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बस्नेतले बताए ।

सिम्रिक साकोसले सदस्यको आर्थिक हितसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत निरन्तरता दिँदै आएको छ । शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपन्न परिवारलाई सहयोग, रक्तदान, सरसफाइ तथा जनचेतनामूलक कार्यक्रममार्फत समुदायसँगको सम्बन्धलाई थप बलियो बनाउने प्रयास भइरहेको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष सुवास भट्टराईका अनुसार सहकारी केवल आर्थिक कारोबार गर्ने संस्था नभई समुदायको आवश्यकता र समस्यासँग जोडिएर सामाजिक परिवर्तनमा योगदान गर्ने माध्यम पनि हो ।

“सदस्यको आर्थिक उत्थानसँगै समुदायको समग्र विकासमा योगदान गर्नु हाम्रो जिम्मेवारी हो,” भट्टराईले भने, “त्यसैले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई संस्थाले निरन्तर प्राथमिकतामा राख्दै आएको छ ।”

संस्थाको प्रगति विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक उत्तरदायित्वअन्तर्गत ८ लाख ९८ हजार २४ रुपैयाँ खर्च गरिएको छ । यसअन्तर्गत सामुदायिक विद्यालयका विपन्न विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण, विभिन्न भौतिक सामग्री सहयोग, सुरक्षा निकायलाई आवश्यक सामग्री तथा विभिन्न आश्रमलाई खाद्यान्न र भौतिक सामग्री उपलब्ध गराइएको संस्थाले जनाएको छ ।

सिम्रिक साकोसले सदस्यको निधनपछि परिवारमा पर्ने आर्थिक भार कम गर्न कर्जा मिनाहाको व्यवस्थासमेत गर्दै आएको छ । सदस्यको मृत्यु भएपछि परिवार आर्थिक तथा मानसिक समस्यामा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै संस्थाले आफ्नो नीति तथा नियमअनुसार आवश्यक प्रक्रिया पूरा गरी बाँकी कर्जा मिनाहा गर्ने गरेको जनाएको छ ।

त्यसैगरी सदस्यको घातक तथा साधारण रोगको उपचार, शल्यक्रिया, मृत्यु राहत, कर्जा मिनाहा, प्राकृतिक विपत्तिमा सहयोग, मानो–चामल तथा समवेदना, आर्थिक सहयोगलगायत विभिन्न कल्याणकारी कार्यक्रमलाई संस्थाले निरन्तरता दिएको छ ।

कोषाध्यक्ष मेहरमान बिष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म यस्ता सदस्य कल्याणकारी कार्यक्रमअन्तर्गत २ करोड ४ लाख ६३ हजार ६७६ रुपैयाँ खर्च भइसकेको छ ।

सदस्यको सुख–दुःखमा साथ दिने उद्देश्यले सञ्चालन गरिएका यस्ता कार्यक्रमले सहकारीप्रति सदस्यको भरोसा बढाउन सहयोग पुगेको संस्थाको भनाइ छ ।

सिम्रिक साकोसले अबको प्राथमिकता सदस्यलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउने रहेको जनाएको छ । बचत गर्ने र आवश्यकताअनुसार कर्जा लिने परम्परागत भूमिकाभन्दा अघि बढेर सदस्यलाई उत्पादन, उद्यम र आयआर्जनसँग जोड्ने रणनीति संस्थाले अघि सारेको छ ।

संस्थाका अनुसार सदस्यको आर्थिक क्षमता वृद्धि, रोजगारी सिर्जना र स्थानीयस्तरमै उद्यम विकास गर्न सकिए सहकारीको वास्तविक उद्देश्य पूरा हुन्छ । त्यसैले आगामी दिनमा उद्यमशीलता, सीप विकास, स्वरोजगार तथा सदस्य कल्याणका कार्यक्रमलाई थप विस्तार गर्ने तयारी भइरहेको छ ।

सहकारी क्षेत्रमा आर्थिक चुनौती र विश्वासको संकट देखिएका बेला सदस्यकेन्द्रित गतिविधिलाई प्राथमिकता दिँदै अघि बढ्नु संस्थाका लागि महत्वपूर्ण भएको जानकारहरू बताउँछन् । सिम्रिक साकोसले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्व र सदस्य कल्याणलाई समान प्राथमिकता दिएर आफ्नो पहिचान फराकिलो बनाउँदै लगेको देखिन्छ ।

सहकारीलाई केवल पैसा बचत गर्ने र ऋण लिने थलोका रूपमा नभई सदस्यको आर्थिक उन्नति, सामाजिक सुरक्षा र समुदायको विकाससँग जोडिएको संस्थाका रूपमा स्थापित गर्ने प्रयास सिम्रिक साकोसले गरिरहेको छ ।

शब्दपत्रमा प्रकाशित समाचारको आधारमा पर्दाफासको लागि तयार पारिएको  

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन २१ २०८३,बिहिबार