त्रिभुवन विमानस्थलमा विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रा सहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी पक्राउ परेका छन्।
अन्तर्राष्ट्रिय प्रस्थानतर्फको ह्यान्ड ब्यागेज चेकिङ एरियाबाट नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं–क्वालालम्पुर जान लागेका दुई कर्मचारीलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६, गोंगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ घर भएकी ३५ वर्षीया ममता पाण्डे रहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा जननीको साथबाट अमेरिकी डलर ४ हजार ३ सय र मलेसियन रिङ्गिट १२ हजार ३ सय ७२ बरामद गरेको जनाएको छ।
त्यस्तै, ममताको साथबाट अमेरिकी डलर ४ हजार २ सय र मलेसियन रिङ्गिट १२ हजार ३ सय २८ फेला परेको प्रहरीले जनाएको छ।
विदेशी मुद्रा सम्बन्धी विषयमा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि दुवै जनालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया