भदौ ३१ २०८३, बुधवार

दशौँ राष्ट्रिय खेलकुदका लागि कोशीका १४ जिल्लामा खेलाडी छनोट गर्न निर्देशन

 

विराटनगर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि कोशी प्रदेशका सबै जिल्लामा जिल्ला स्तरीय छनोट प्रतियोगिता तथा आवश्यक पूर्वतयारीका काम अघि बढाउन प्रदेश खेलकुद विकास बोर्डले निर्देशन दिएको छ।
प्रदेश खेलकुद विकास बोर्ड, विराटनगरले कोशी प्रदेशका १४ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गर्दै राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रभावकारी र सशक्त सहभागिता सुनिश्चित गर्न जिल्लास्तरबाटै खेलाडी छनोट तथा तयारीका काम सुरु गर्न आग्रह गरेको हो।
नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयको मिति २०८३/०४/२४ गतेको पत्रअनुसार कर्णाली प्रदेशको सुर्खेतलगायत जिल्लामा २०८३ मंसिर १६ देखि मंसिर २७ सम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने उल्लेख गर्दै बोर्डले जिल्ला छनोटलाई प्राथमिकता दिन भनेको छ।
बोर्डले आफ्ना जिल्लाका प्रतिभावान खेलाडीलाई समेटेर जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न तथा राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक पूर्वतयारीका काम सुरु गर्न जिल्ला खेलकुद विकास समितिहरूलाई अनुरोध गरेको छ।
त्यस्तै, राष्ट्रिय खेलकुद प्रतियोगितामा विधागत रूपमा सहभागी गराइने खेल तथा खेलाडीको कोटा (Quota) सम्बन्धी विस्तृत जानकारी पुनः अर्को पत्रमार्फत पठाइनेसमेत बोर्डले जनाएको छ।
प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले हस्ताक्षर गरेको पत्रमा राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रभावकारी सहभागिता र उत्कृष्ट प्रदर्शनका लागि समयमै छनोट तथा तयारी अघि बढाउन जिल्ला खेलकुद समितिहरूलाई आग्रह गरिएको छ।
कोशी प्रदेशमा प्रदेश खेलकुद विकास बोर्डले १४ वटै जिल्लाका खेलकुद विकास समितिमार्फत खेलकुद गतिविधि अघि बढाउँदै आएको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार