पुर्वराजा ज्ञानेन्द्रद्वारा नयाँ वर्ष २०८२ को शुभकामना: "सम्वाद, सहमति र समन्वयबाटै समस्याको समाधान सम्भव"

काठमाडौँ, वैशाख १ – पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै देशको वर्तमान परिस्थिति प्रति चिन्ता व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देशमा उहाँले मुलुकमा बढ्दो अशान्ति, अराजकता, भ्रष्टाचार, बेरोजगारी र नागरिक पलायन प्रति गम्भीर चिन्ता व्यक्त गर्नुहुँदै स्वदेशमै श्रम, सीप र पुँजीको उपयोग गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ।

“हामी नेपालीहरुको घर आँगनमा नयाँ बर्ष दुई हजार बयासी आइपुगेको छ,” भनी शुरू गरिएको सन्देशमा उहाँले पछिल्ला केही दिनको जनप्रदर्शनमा भएको हिंसा, तोडफोड र आगजनीप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।
पूर्वराजाले जनताको स्वतन्त्रता, विचारको अभिव्यक्ति र देशभक्तिपूर्ण जागरुकतालाई सकारात्मक रुपमा लिनु आवश्यक रहेको बताउँदै भन्नुभयो, “वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुसरणीय छ।”

राजसंस्थाले जहिल्यै राष्ट्रियता, स्थायित्व र प्रजातन्त्रलाई महत्व दिएको उल्लेख गर्दै शाहले भन्नुभयो, “हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं।”
उहाँले स्वदेशी स्रोत साधनको उपयोग, आत्मनिर्भर अर्थतन्त्र, युवाशक्तिको स्वदेशमै उपयोग र स्वदेश फर्क स्वदेश नै स्वर्ग भन्ने अभियान अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
शुभकामना सन्देशको अन्त्यमा उहाँले पशुपतिनाथसँग समस्त नेपालीको कल्याणको कामना गर्दै भन्नुभयो, “श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, जय नेपाल!”
प्रतिक्रिया