छैटौँ विश्वकप यात्रामा रोनाल्डोको चमक, पोर्चुगलले आर्मेनियामाथि ५–० को विजयी सुरुवात
पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो छैटौँ विश्वकप खेल्ने अभियान उत्कृष्ट ढंगले सुरु गरेका छन्। शनिबार भएको विश्वकप छनोट खेलमा उनले दुई गोल गर्दै पोर्चुगललाई आर्मेनियामाथि ५–० को सानदार जित दिलाए।
यो खेल पोर्चुगलका लागि भावुक पनि रह्यो। गत जुलाईमा सडक दुर्घटनामा फरवार्ड डियोगो जोटा र उनका दाजु आन्द्रे सिल्भाको निधनपछि भएको यो पहिलो अन्तर्राष्ट्रिय खेल थियो। खेल सुरु हुनुअघि मौनधारण गर्दै श्रद्धाञ्जली दिइएको थियो।

४० वर्षीय कप्तान रोनाल्डोले २१औं र ४६औं मिनेटमा गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १४० पुर्याए। उनले हालै साउदी क्लब अल नसरसँग नयाँ सम्झौता गरेका छन्। जूनमा उनले पोर्चुगललाई नेसन्स लिग जिताएका थिए, तर विश्वकप उपाधि भने अझै उनको अपूरो सपना बनेको छ।
उनका दीर्घकालीन प्रतिद्वन्द्वी लियोनल मेस्सीले सन् २०२२ मा अर्जेन्टिनाका लागि विश्वकप जितिसकेका छन्। अमेरिका, क्यानडा र मेक्सिकोमा हुने आगामी विश्वकप सम्भवतः रोनाल्डोको अन्तिम मौका हुने सम्भावना छ।

खेलमा जोआओ फेलिक्सले १०औं र ६१औं मिनेटमा दुई गोल गरे भने जोआओ कन्सेलोले ३२औं मिनेटमा अर्को गोल थपे। कन्सेलोले गोलपछि जोटाको सम्झनामा आकाशतर्फ हात उठाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए।
प्रशिक्षक रोबर्टो मार्टिनेजले टिमको तयारी सन्तोषजनक भएको बताए। उनले रोनाल्डोले २१औं मिनेटमा गरेको गोललाई जोटासँग जोड्दै भने, “२१ नम्बर उसको जर्सी नम्बर थियो, त्यसैले त्यो गोल उसलाई समर्पित भयो।” मंगलबार हुने हंगेरीविरुद्धको खेललाई उनले अर्को ठूलो चुनौती भनेका छन्।

प्रतिक्रिया