१० खेलाडीमै सीमित रियल म्याड्रिडको लगातार चौथो जित
स्पेनिस ला लिगामा रियल म्याड्रिडले लगातार चौथो जित निकालेको छ। शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित भए पनि रियलले रियल सोसिडाडलाई २-१ ले पराजित गरेको हो।
खेलको १२औं मिनेटमा सोसिडाडको डिफेन्सको गल्तीको फाइदा उठाउँदै किलियन एम्बाप्पेले रियललाई अग्रता दिलाए। तर ३२औं मिनेटमा डिफेन्डर डिन हुइजसेन रातो कार्ड पाउँदै रियल १० खेलाडीमा सीमित भयो। त्यसपछि पनि आक्रमण जारी राखेको रियलले ४४औं मिनेटमा एम्बाप्पेको पासमा आर्दा गुलरमार्फत दोस्रो गोल थप्यो।

दोस्रो हाफमा सोसिडाडले खेलमा फर्कने प्रयास गर्यो। ५६औं मिनेटमा दानी कार्भाजालको ह्यान्डबलपछि पाएको पेनाल्टीलाई मिकेल ओयार्जाबाले सफलतापूर्वक गोलमा परिणत गर्दै अन्तर घटाए।
तर बाँकी समयमा रियलले बलियो डिफेन्स खेल्दै जित सुरक्षित गर्यो। खेलको ८२औं मिनेटमा कार्भाजालको सट्टा ट्रेन्ट अलेक्ज्यान्डर–आर्नोल्ड मैदान प्रवेश गरेका थिए।

यो जितसँगै ४ खेलबाट १२ अंक जोडेको रियल म्याड्रिड लिगको शीर्ष स्थानमा पुगेको छ। सोसिडाड भने पराजयसँगै अंकतालिकाको मध्य स्थानमा सीमित छ। उता, पाँचौं स्थानमा रहेको बार्सिलोनाले आज राति भ्यालेन्सियाविरुद्ध खेल्नेछ।
प्रतिक्रिया