गुरुपूर्णिमाको अवसरमा शिक्षक सम्मान pardaphas.com
गौरादह, श्रावण १३ । झापाको गौरादह नगरपालिका–१ स्थित गोल्डेन सनराइज माध्यमिक विद्यालयमा गुरुपूर्णिमा पर्व विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ।
विद्यालयको सितेरियो कराँते टिम ‘गोल्डेन डोजो’ को आयोजनामा सम्पन्न कार्यक्रममा गीत, संगीत, नृत्य, कवितावाचन तथा सांस्कृतिक प्रस्तुतिसहित विभिन्न सिर्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले आफ्ना गुरु तथा शिक्षकप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै सांस्कृतिक प्रस्तुतिमार्फत गुरुपूर्णिमाको महत्व उजागर गरेका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजकुमार कार्कीले गुरु–शिष्य सम्बन्धको महत्व, अनुशासन, नैतिक शिक्षा तथा जीवन निर्माणमा शिक्षकको भूमिकाबारे मन्तव्य व्यक्त गर्दै विद्यार्थीलाई असल संस्कार र व्यवहार अपनाउन आग्रह गरे।
कार्यक्रमको अध्यक्षता गोल्डेन डोजोका प्रशिक्षक भरत मगरले गरेका थिए। उनले कराँते प्रशिक्षणले विद्यार्थीमा आत्मअनुशासन, आत्मविश्वास र सकारात्मक सोचको विकास हुने उल्लेख गर्दै यस्ता कार्यक्रमले गुरु–शिष्यबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूले विद्यालयका शिक्षक तथा शिक्षिकाहरूलाई खादा, पुष्पगुच्छा तथा सम्मानपत्रद्वारा सम्मान गरेका थिए। कार्यक्रममा विद्यालय परिवार, विद्यार्थी तथा अभिभावकको उल्लेखनीय सहभागिता रहेको थियो।
गुरुपूर्णिमाको अवसरमा आयोजित यस कार्यक्रमले गुरुप्रतिको सम्मान, कृतज्ञता र शैक्षिक संस्कारलाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुगेको विद्यालयले जनाएको छ।
प्रतिक्रिया