भदौ ०२ २०८३, मंगलबार

दुर्गा प्रसाईंको महाअभियानसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

काठमाडौं । आन्दोलनरत दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग वार्ता गर्न सरकारले औपचारिक रूपमा वार्ता टोली गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको हो।

टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन्।

सरकार र महाअभियानका प्रतिनिधिबीच सोमबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा भएको छलफलपछि औपचारिक वार्ताको बाटो खुलेको हो। प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको कार्यकक्षमा भएको छलफलमा दुवै पक्षबीच महाअभियानका मागबारे वार्ता अघि बढाउने सहमति भएको थियो।

महाअभियानका प्रतिनिधिहरूले सरकारसँग औपचारिक वार्ताका लागि पत्रसमेत बुझाएका थिए। त्यसपछि सरकारले वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्तामा आउन औपचारिक आह्वान गर्ने तयारी गरेको हो।

छलफलमा महाअभियानका तर्फबाट विष्णु बोहोरा क्षेत्री, राजु आचार्य, सकुनी सिंह, हरदेव महतो, तारा बजगाईं र विजय थापा सहभागी थिए।

दुर्गा प्रसाईंले लामो समयदेखि लघुवित्त पीडितका समस्या तथा नागरिकका विभिन्न मागलाई लिएर आन्दोलन गर्ने बताउँदै आएका छन्। काठमाडौंमा लघुवित्त पीडितहरूको आन्दोलन जारी रहेकै बेला सरकारले प्रसाईं नेतृत्वको महाअभियानसँग औपचारिक संवाद अघि बढाउन वार्ता टोली गठन गरेको हो।

अब सरकार र महाअभियानबीच हुने वार्तामा आन्दोलनरत पक्षका माग, लघुवित्त पीडितका समस्या तथा अन्य राजनीतिक र सामाजिक मुद्दाबारे छलफल हुने अपेक्षा गरिएको छ।

सरकारले वार्तामार्फत आन्दोलनरत पक्षका माग सुन्ने र सम्भावित समाधानका विषयमा सहमति खोज्ने प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन ३१ २०८३,आइतबार