अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
सुनसरी, कोशी गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ९० मिलिग्राम सहित धादिङ बेनीघाट रोराङ गाउँपालिका-१ बस्ने २८ वर्षीय राज कुमार थिङ तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-९ बाँध डाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रमाडोल ५ ट्याब्लेट सहित सोही नगरपालिका-९ बस्ने २५ वर्षीय भजन देव रामलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरीले को.१० प ८८५२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-११ उरहरीस्थित कपाल काट्ने पसल संचालन गरी बस्ने १९ वर्षीय दिपक बिक समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम ४ सय ७० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय तुलसीपुरबाट खटिएको प्रहरीले दिपकको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-४ पेश्करटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १४ मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-६ बस्ने ५३ वर्षीय संजय अग्रवाल समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २८ वर्षीय आशिष कुमार महतोलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-२ घोडहाबाट नियन्त्रित लागूऔषध स्पास्मो ४ सय २८ ट्याब्लेट सहित भारत उत्तर प्रदेश थाना निचलौल गाउँ परागपुर बस्ने २० वर्षीय हदिश अलि समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले युपि ५६ ए ०९३९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, कटहरी गाउँपालिका-३ रिङरोड नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४५ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत अररिया थाना सोनामनि गोदाम डुमरिया बस्ने २२ वर्षीय बिक्की कुमार मण्डल समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कटहरी समेतबाट खटिएको प्रहरीले बीआर ३८ एजे ९०१४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
जाजरकोट, शिवालय गाउँपालिका-१ छेडाचौरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित रूकुम पश्चिम आठविसकोट नगरपालिका-९ बस्ने २४ वर्षीय शसिराम परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी छेडाचौरबाट खटिएको प्रहरीले लु.प्र.०१-००१ च १७४० नम्बरको बोलेरोमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया