माघ २३ २०८१, बुधवार

गौरादह जेसीजद्वारा देउसी भैली प्रतियोगिताको ऐतिहासिक आयोजना, संस्कृति र धार्मिक परम्परालाई विशेष सम्मान

Ads


गौरादह, झापा – गौरादह जेसीजले हिन्दूहरूको महत्वपूर्ण पर्व यमपञ्चकको अवसरमा ऐतिहासिक देउसी भैली प्रतियोगिता आयोजना गर्ने भएको छ। कात्तिक १६ गते शुक्रबार गौरादह बजारमा हुन लागेको यो प्रतियोगिता स्थानीय कला, संस्कार, र धार्मिक परम्परालाई सम्मान गर्दै आयोजना गरिन लागेको हो। यस प्रतियोगितामा गौरादह र वरपरका समुदायका ६/७ टिमले भाग लिनेछन्, जसले स्थानीय लोकसंस्कृतिलाई पुनः जागृत गर्ने अपेक्षा गरिएको छ।

देउसी भैली नेपाली समाजको सांस्कृतिक पहिचानसँग नजिकसँग जोडिएको एउटा परम्परा हो। हिन्दू धर्मअनुसार यमपञ्चकको तेस्रो दिन अर्थात् गोवर्धन पूजामा देउसी भैली खेलिने परम्परा छ। यसलाई मित्रता, सहकार्य र सहिष्णुताको पर्वका रूपमा लिइन्छ। प्रतियोगितामा सहभागिता जनाउने टोलीहरूले सांस्कृतिक भाकाहरूमा आधारित रीतिरिवाजअनुसारको प्रस्तुतिमा सजग अभ्यास गरिसकेका छन्।

Ads

गौरादह जेसीजका अध्यक्ष खड्ग थापाले पर्दाफास मिडियालाई जानकारी दिँदै भने, "यस प्रतियोगिताको माध्यमबाट हामीले हाम्रो सांस्कृतिक र धार्मिक परम्परालाई जगेर्ना गर्ने र युवा पुस्तामा यसको महत्त्वबारे जागरण ल्याउने प्रयास गरेका छौँ। यो कार्यक्रम गौरादहमा पहिलो पटक हुन लागेको छ र हामी यसलाई सभ्य र भव्य बनाउन लागि परेका छौँ।"

प्रतियोगिताका लागि प्रथम पुरस्कार १०,००० रुपैयाँ, द्वितीय पुरस्कार ५,००० रुपैयाँ र तृतीय पुरस्कार ३,००० रुपैयाँ रहनेछ। साथै, गौरादहको सांस्कृतिक संरक्षणमा योगदान पुर्याउँदै आएको सांगीतिक समूह सिल्पसिलाले सहकार्य गर्नेछ। थापाले यस प्रतियोगितालाई कला र परम्पराको संरक्षण गर्ने ठोस कदमको रूपमा हेरेका छन्।

Ads

गौरादह जेसीजले यसअघि थापाको नेतृत्वमा लागूपदार्थ दुव्र्यसनविरुद्ध केन्द्रित 'सुरुङ' नाटक मञ्चन गरेर सामाजिक योगदान पुर्‍याइसकेको छ। थापाको नेतृत्वमा गौरादह जेसीजले समाज रुपान्तरणमा लगातार प्रभावशाली भूमिका निर्वाह गर्दै आएको छ, जसले आम जनमानसमा गहिरो छाप छोडेको छ।

यो देउसी प्रतियोगिता गौरादहको इतिहासमै पहिलो र विशेष मानिने कार्यक्रम हुनेछ, जसले गौरादहको सांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै स्थानीय समाजलाई एकतामा बाँध्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार