d

भारतीय प्राविधिकको सहयोगमा लाहाबाट चुरा बनाउने तालीम सुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पर्दाफास, बैशाख ९, झापा: झापाको गौरादहमा लाहाबाट चुरा बनाउने सम्बन्धि ३५ दिने तालीम आयोजना गरिएको छ । वडा नम्बर १ को सभाहलमा आज एक औपचारिक कार्यक्रम आयोजना गरि  तालीमको उद्घाटन गरिएको हो । 

लाहालाई कच्चापदार्थको रूपमा प्रयोग गरि हातको चुरा बनाउने तालीममा नगरभित्रबाट २० जनाको सहभागीता रहेको छ । 

तालीमको प्रशिक्षण भारतीय लाहा विज्ञ अस्लम आलमले गर्ने जानकारी गराइएको छ । 

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख छत्रपति सुवेदीले लाहाबाट चुरा उत्पादन गर्ने तालीम कोशी प्रदेश मै पहिलो रहेको वताए । 

३५ दिन सम्म निरन्तर रूपमा तालीममा सहभागी भइ दक्षता हासिल गर्न नगरप्रमुख सुवेदीले सहभागीलाई आग्रह गरे । 

'यो तालीम तपाईंहरुको लागि निकै महत्त्वपूर्ण छ । तालीम पस्चात तपाईंहरुले स्वरोजगारमूलक उद्यमहरु सञ्चालन गर्न सक्नु हुनेछ।' नगरप्रमुख सुवेदीले सहभागीलाई भनेका थिए ।

गौरादहमा लाहा उत्पादनको सम्भावना राम्रो भएको भन्दै वहाँले लाहा खेती गर्न इच्छुक हुनेहरूले नगरपालिकामा थप सहयोगको लागि सम्पर्क गर्न अनुरोध गर्दै प्रति २ कट्ठामा २ मन लाहा उत्पादन गर्न सकिने भएकोले बिउविजन र अन्य प्राविधिक सहयोगको लागि नगरपालिका सदैव तयार रहेको बताउनु भयो । 

कार्यक्रमका सभापति तथा कार्यपालिका सदस्य डम्बर विश्वर्कर्माले लाहा खेतीमा आफ्नो लामो अनुभव रहेको बताउदै लाहा सम्बन्धि तालीम र यसको कच्चापदार्थ उत्पादन गर्ने सम्बन्धि चर्चा गरेका थिए । 

नगर कार्यपलिका सदस्य समेत रहेका विश्वकर्माले गौरादह ९ मा व्यवसायीक रूपमा करिब २ बिघामा लाहा खेती गर्दै आएका छन् । उनले लाहाखेतीलाई व्यवसायीक रूपमा सञ्चालन गर्न सके लगानीकर्ताले मात्रै नभएर सिंगो राज्यलाई नै अर्थतन्त्रमा टेवा प्रदान गर्ने बताए । यसै प्रसंगलाई जोड्दै मेयर सुवेदीले गौरादहमा उत्पादन भएको लाहा नगरपालिकाले नै कच्चापदार्थको रूपमा बजार व्यवस्थापन गरिदिने बताएका थिए । 

वडाध्यक्ष नगेन्द्र भण्डारीले प्रशिक्षार्थीले अनुशासित भएर तालीम लिनुपर्ने बताउदै यो तालीम कति महत्त्वपूर्ण छ भन्ने कुरा नभुझ्नेले तालीम लिनुको कुनै औचित्य नहुने बताए । 

भण्डारीले भने, 'यदि तपाईंहरु मध्ये कोहि सहभागीहरु समय विताउन मात्रै तालीममा जोडिनु भएको छ र तालीमको औचित्य बुझ्नुभएको छैन भने अहिले नै छोडेर जाँदा हुन्छ,  तपाईंको ठाउँमा अरु नै योग्य व्यक्ति खोजी गर्ने छौँ ।' 

सितादेवी टेक्नोलोजी कन्सल्टेन्सीका सञ्चालक बिक्रम अधिकारीले सञ्चालन गरेका थिए । 


 

Views: