d

सारथी युवा क्लबले नगरपालिकालाई बुझायो १० बुँदे ध्यानाकर्षण 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरादहमा स्थापित संस्था सारथि युवा क्लबले गौरादह नगरपालिकामा  १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आगामी आर्थिक वर्षको लागि निर्माण हुने बजेटमा समेटिनु पर्ने विषयहरु बारे जानकारी गराउदै नगर कार्यपालिकाको ध्यानाकर्षण गराइएको बताइएको छ । 

आज एक औपचारिक कार्यक्रमका बीच नगर प्रमुखलाई उक्त पत्र बुझाइएको सारथी अध्यक्ष गोविन कँडेलले जानकारी गराए । 

पत्रमा नगरपालिकाको सामाजिक, आर्थिक, भौतिक विकास र  सुशासनको विषयहरुमा सुझाव प्रस्तुत गरिएको छ  । 

ध्यानाकर्षण पत्र ग्रहण गर्दै नगर प्रमुख छत्रपती सुवेदीले जनस्तरबाट आएका सकारात्मक सुझावलाई सदैब ग्रहण गर्ने बताए । 

यस्तो छ ध्यानाकर्षण पत्र

उपरोक्त सम्बन्धमा हाम्रो यस गौरादह नगरपालिकाको सामाजिक, आर्थिक, भौतिक विकास र सुसाशनको लागि आम सर्वसाधारणको चासो र सार्बजनिक महत्वका विविध विषयहरु मध्ये निम्न विषयहरुमा यस नगरपालिकाको ध्यानाकर्षण गराउदै सम्बन्धित विषयमा हाल सम्म भएका प्रगति विवरणहरु सहित आगामी योजनाका बारेमा जानकारी गराइदिनु हुन माग गर्दछौ ।

विषयहरु :-

१) विगत लामो समय देखि नक्सा र धनीपुर्जा कै कारण धेरै पछाडि रहदै आएको (साबिक महारानीझोडा) हालको गौरादह नगरपालिका वार्ड नं. ४ र ५ को क्षेत्रमा रहेको जग्गाको नक्सा र धनीपुर्जाको कार्य प्रगति विवरणको सुचना माग गर्दै जनतालाई प्रत्यक्ष रुपमा निर्णायक परिणाम दिने गरी पहलकदमी लिनु हुन ध्यानाकर्षण गराउदछौ ।

२) नगरपालिकाको क्षेत्र भित्रमा अतिक्रमित भएका सार्वजनिक जमीनको खोजी गरी नेपाल सरकारको स्वामित्व कायम गर्न गत वर्ष नै ध्यानाकर्षण गराइएकोले नगरपालिकाको एक बर्ष भित्र भएको कार्य प्रगति विवरण र आगामी योजनाको जानकारी माग गर्दछौ ।

३) नगरपालिका भित्र संचालित पुर्वाधार विकासका योजनाहरुको निर्माणमा अधिकांश निर्माण कम्पनीहरुले सामान्य आधारभुत मापदण्ड पनि नअपनाएको र निर्माणमा निरन्तर कमसल काम भएको कारण जनताले तिरेको करको समुचित उपयोग हुन नसकेकोले दिगो विकासको योजना बनाएर ल्याब टेस्टलाई प्रभावकारी गराइ कडाइका साथ नियमन र अनुगमन गरी गुणस्तरीय निर्माण कार्यको प्रत्याभुति गराउन र सडकहरु बिग्रेको, खाल्डाहरु मर्मतका लागि द्रुत गतिको मर्मत सेवा संचालन गर्न ध्यानाकर्षण गराउदछौ ।

४) खुल्ला सीमाको संबेदनशीलता, बढ्दो चोरी-डकैती, अपराध, लागुऔषध र तस्करी नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्न गौरादह नगरपालिका भित्रका मुख्य सडक तथा चोक/बजार स्थानहरुमा विद्युत सहित उच्च गुणस्तरीय सी सी टी भी क्यामेरा जडानका लागि दिर्घकालिन योजना सहित यसै आर्थिक वर्षबाट कार्यान्वयन गर्न अनुरोध गर्दछौ ।

५) निर्वाहमुखी कृषि क्षेत्रलाई आत्मनिर्भर हुदै व्यवसायेमुखी कृषि बनाउनका लागि प्रत्येक वर्ष एक उत्पादनमा गौरादह नगरपालिकालाई वात्मनिर्भर बनाउने कार्ययोजनासहित वास्तविक कृक्षकहरुलाइ प्रत्यक्ष लाभ पुग्ने गरी योजना संचालन गर्न र स्थानिय उत्पादन तथा प्रविधिको प्रबर्द्धन र बजार व्यवश्थापन गर्न ध्यानाकर्षण गराउदछौ ।

६) शैक्षिक क्षेत्रमा बढ्दो राजनीतिकरणलाई न्यूनीकरण गरी सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न अग्रज शैक्षिक व्यक्तित्वहरुको सल्लाह र सुझाब सहित ठोस शैक्षिक योजना बनाइ कार्यान्वयन गरेर सामुदायिक विद्यालयहरुप्रति समुदायको आकर्षण बढाउन कार्यक्रम सुरु गर्न ध्यानाकर्षण गराउदछौ ।

७) गौरादह नगरपालिकामा संचालनमा रहेका विभिन्न संघ, संस्थाहरुको अनुगमन गरी भविष्यमा हुन सक्ने सम्भावित आर्थिक तथा सामाजिक क्षतिको न्युनिकरण गर्न साथै करको दर भन्दा पनि दायरा बढाइ आन्तरिक राजश्वमा टेवा पुर्याउन अनिवार्य रुपमा दर्ता वा सुचिकृत गराउन र आम उपभोक्ताको हितलाइ मध्यनजर राखी बजार अनुगमनलाइ प्रभावकारी कार्यान्वयन गराउन ध्यानाकर्षण गराउदछौ ।

८) बढ्दो लागु औषध दुर्व्यसन न्युनीकरण गर्न सचेतना कार्यक्रमले मात्र सम्भव देखिदैन । परिणामुखी कार्यलका लागि नगरपालिका भित्र रहेका सम्पुर्ण औषधी व्यावसायीहरुसग समन्वय र नियमन गर्न, स्थानीय संघसंस्थाहरु, अभियानकर्ता, प्रहरी र स्थानीय सरकारको संयुक्त टीम बनाइ, प्रहरी प्रसाशनलाइ आवश्यक स्रोत र साधन उपलब्ध गराइ निरन्तरको अनुगमन र कारवाहीलाइ प्राथमिकता दिन ध्यानाकर्षण गराउदछौ ।

९) भौतिक पूर्वाधार निर्माणमा सडक, विद्युत र खानेपानी बिच आपसी समन्वय हुन नसक्दा एउटै कार्यमा राज्य श्रोतको जनशक्ति, समय र आर्थिक क्षति हुनुका साथै जनताले पनि समेत समस्या भोग्नु परिरहेको हुदा नगरपालिका भित्र संचालन हुने योजनाहरु आपसी समन्वयमा दिगो बिकासको लक्ष्य निर्धारण गरी कार्यान्वयन गराउन र विशेष गरी सडक निर्माणका क्रममा विद्युत पोल सार्ने विषयमा विद्युत प्राधिकरणबाट स्थानीयबासीले विविध समस्या भोग्नु परेकाले नगरपालिकाबाट समस्या समाधानका लागि पहल गर्न ध्यानाकर्षण गराउदछौ ।

१०) गौरादह नगरपालिकाले गरेका कार्यहरु मध्ये सर्वसाधारण जनतालाइ प्रत्यक्ष महसुस र लाभान्वित हुने गरी गरेको उत्कृष्ट कार्य हो गौरादह नगर अस्पतालबाट सञ्चालित स्वास्थ्य विमा सहितको सेवा। आम सर्वसाधारण जनता सग प्रत्यक्ष जोडिएको स्वास्थ्य क्षेत्रमा जनताको सहज पहुँच पुगोस । औषधीहरुको उपलब्धता सुनिश्चत गरी यसलाइ थप व्यवस्थित र भरपर्दो बनाउदै गुणस्तरी सेवा प्रदान गर्न सक्षम रहोस भन्ने सुभेच्छा व्यक्त गर्दछौ ।

जनसरोकारका विषयहरुमा प्रत्यक्ष जोडिएर सरकार छ भन्ने पहिलो अनुभूति दिलाउने प्रभावकारी निकाय हो स्थानीय सरकार । सकारात्मक र सूजनात्मक सल्लाह एबम सुझाबहरु गतिशील समाज निर्माणका लागि सदैब कोशेढुङ्गा बन्न सक्छन। यी हाम्रा मागहरुलाई सोहि अनुरुप लिनु हुनेछ भन्ने विश्वास सहित समुन्नत र विकसित गौरादह निर्माणको अभियानमा सहि कार्यलाई समर्थन र कमजोरीहरुमा सुझाब र खवरदारी सदैब कायम रहने प्रतिबद्धता व्यक्त गर्दै समृद्ध गौरादह निर्माणका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

Views: