d

कानुन बनाउने कार्य आफैंमा जटिल विषय हो - मुख्यमन्त्री कार्की

Views:
Responsive Image Gallery
Responsive Image Gallery


 
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कानून बनाउने काम सहज नभएको  बताउनुभएको छ । 
मुख्यमन्त्री  कार्कीले कानून बनाउने काम गम्भीर रहेको भन्दै  शब्द शब्दमा ध्यान दिन आवश्यक रहेको  बताउनुभयो । प्रदेश सभा सचिवालयले झापामा आयोजना गरेको प्रदेश तथा स्थानीय तहमा कानून निर्माण प्रकृया र कार्यान्वनयको अवस्था विषयक कार्यक्रममा बोल्दै उहाँले कानून निर्माण गर्दा देशको संविधान अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो । कतिपय स्थानीय र प्रदेश सरकारले बनाएका कानून संविधानसँग बाझिने गरी आएको स्मरण गर्दै उहाँले संविधान अध्यन गरेर आवश्यक कानुन बनाउन जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले कानून पढेर मात्रै  कानून बनाउन नजानिने भन्दै  कानून बनाउने काम सबै भन्दा कठिन भएको बताउनुभयो । कानून निर्माणको लागि संघीयता आएको पछिल्लो ६ सात वर्षको समय पर्याप्त रहेको उल्लेख गर्दै आवश्यक कानून निर्माण गरी लागू गर्न उहाँले आग्रह गर्नुभयो ।  सुशासनका लागि पनि  कानून अति अवाश्यक भएकोले त्यसतर्फ समेत ध्यान दिनु पर्ने कुरामा जोड दिनु भयो  । कानून बनाएपछि राजश्व उठाउन समेत सहज हुने र त्यसले स्थानीय तह र प्रदेश सरकारलाई समेत विकास निर्माणका लागि बजेट विनियोजन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । फरक प्रसंगमा उहाँले धार्मिक पर्यटनमा जोड दिनु पर्ने बताउनुभयो । उहाँले लुम्बिनी बुद्धिष्टहरुको लागि पवित्र भूमि भएको र त्यहाँ छिमेकीमुुलुक चीनबाट मात्रै करोडौँ पर्यटक तान्न सकिने बताउनुभयो । यस्तै पशुपतिनाथ र पाथिभारा दर्शनकालागि  छिमेकीमुलुक भारतबाट करोड करोड पर्यटक ल्याउन सकिने उहाँको भनाइ छ । पर्यटकहरुलाई सहज हुने गरीको राज्यको नीति हुन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।  कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले स्थानीय तहलाई कानून निर्माणका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।

 कोशी प्रदेश सभामुख अमर व.विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, कोशी प्रदेश उपसभामुख सृजना दनुवार, अतिथिहरू प्रदेश सांसद होम थापा, प्रदेश सांसद तारा देवि ढकाल, प्रदेश सांसद नम्वरलाल धिमाल, कोशी प्रदेशसभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुली, गौरादह नगर प्रमुख छत्रपति सुवेदि, गौरिगञ्ज गा.पा. अध्यक्ष फुलवति राजवंशी र कमल गाऊँपालिकाका अध्यक्ष हुकुम सिंह राई सहित स्थानीयतहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Views: