d

चिकित्सक संघको नागरिक समाज संग अपिल: संकटको घडीलाइ मिलेर सामान गरौँ

Views:
Responsive Image Gallery
Responsive Image Gallery
 काठमाडौं : नेपाल चिकित्सक संघले मुलुकभर ‘रेड अलर्ट’ घोषणा गर्दै सरकार राजनीतिक दल, निजी क्षेत्र, सहयोगी निकायलगायतलाई राष्ट्रिय संकल्पका साथ यो महामारीविरुद्ध लड्न अपिल गरेको छ। संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले प्रेस विज्ञप्ति जारी गर्दै यस क्षणमा सबै दललाई एक ठाउँमा ल्याउन र महामारीविरुद्ध जुट्न अभिभावकको भूमिका निर्वाह गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्। 
सबैले आ–आफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गरेर कोभिड–१९ महामारीको जालो तोड्न सकिने संघले जनाएको छ। ‘जनताको जीवन रक्षाभन्दा ठूलो मुद्दा अरू हुन सक्दैन, कृपया ! सिंगो राष्ट्र एक ठाउँमा उभिएर जनताको जीवन रक्षाका लागि पहल गरौं। हामी कोरोना युद्धमा होमिएका छौं, दृढतापूर्वक खटिनेछौं। यति बेला यो लडाइँमा तपार्इंहरूको संकल्प, सत्प्रयास र साथ चाहिएको छ’, अपिलमा लेखिएको छ। 
यो लडाइँ स्वास्थ्यकर्मी वा स्वास्थ्य मन्त्रालयको मात्रै नभएको विज्ञप्तिमा उल्लेख छ। सबै एकजुट भएर राष्ट्रिय संकल्प गर्न सके मात्र लडाइँ जित्न सकिने संघको ठहर छ। स्वास्थ्य प्रणालीलाई थप ढल्न नदिन सबैले भरथेग गर्न आग्रह गरिएको छ। 
‘अस्पताल आउन नपाएका, आएकालाई फर्काउनुपरेका, बचाउन सक्ने अवस्था हुँदाहुँदै एक सिलिन्डर अक्सिजन नपाएर आफ्नै आँखा अगाडि मर्नुपरेको, परिवारले प्राण जोगाइदिन गरेको अनुनयविनय, अक्सिजन र शय्या भन्दै गरेको हारगुहारको हृदयविदारक दृश्यले हाम्रो भोक, निद्रा सबै लगेको छ’, अपिलमा छ, ‘अस्पतालको प्रांगणका दृश्य जुन देख्न हामी विवश छौं। तर, जब सामाजिक सञ्जाल, समाचारहरू हेर्छौं तब जनताका यी पीडा र वेदनाभन्दा अन्य विषयहरू प्राथमिकताका विषय छन्। मानौं अस्पतालमा ती हृदयविदारक दृष्य अर्कै लोकका हुन। अनि अस्पतालमा दिनरात खटेको हाम्रो मन खिन्न हुन्छ, उदेक लाग्छ र प्रश्न गर्न मन लाग्छ– के नेतृत्वदायी भूमिकामा रहेकाहरूका लागि जनताको जीवनभन्दा ठूलो कुरा अरू केही हुनसक्छ ?’
समयमा तयारी नगर्दा र प्राथमिकतामा नपर्दा नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको अपिलमा उल्लेख छ। कोरोनाको पहिलो लहरदेखि नै जुनसुकै बेला भयावह अवस्था आउन सक्ने भएकाले आवश्यक तयारी गरौं भनेर निरन्तर झक्झकाएको जनाइएको छ। 
‘आज फेरि पनि केही आशा गरेर यो बिन्ती गर्दै छौं। अब केही महिनाका लागि तपाईंका राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस्। एउटै प्राथमिकता बनाउनुहोस्, जनताको जीवन जोगाउने, एकजुट भएर भाइरससँग लड्ने र महामारीलाई परास्त गर्ने’, अपिलमा छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च पार्न, सम्पूर्ण नागरिकको जीवन रक्षाका निमित्त सबैले हातेमालो गर्दै समन्वयात्मक भूमिका निर्वाह गर्नु अपरिहार्य रहेको जनाइएको छ। संकटपूर्ण अवस्थामा कोरोना भाइरससँग लड्नका सम्पूर्ण नागरिक स्वास्थ्य सैनिकका रूपमा आ–आफ्नो स्थानबाट पहल गर्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ। चिकित्सक, नर्स, स्वास्थ्यकर्मी फिल्डमा हिम्मत नगुमाई काम गरिरहेको भन्दै प्रश्न गरिएको छ, ‘राज्य सञ्चालनको जिम्मा लिएकाहरूले आफ्नो जिम्मेवारी बोध गर्दै यो बेलामा त्यसरी नै काम गरिरहनुभएको छ त ?’ थप लेखिएको छ, ‘हाम्रो प्रयत्नलाई फलिभूत बनाउन सवैले हातेमालो गरिरहेका छन् भन्ने अनुभूत गर्न पाए मात्र हाम्रो हिम्मत र प्रयासको अर्थ रहन्छ। तर, विडम्बना हामीले त्यो अनुभूत गर्न पाएनौं।’ 
विषमपूर्ण परिस्थितिमा धैर्य र संयम अपनाउँदै स्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गरेर आ–आफ्नो स्थानमा सुरक्षित रहन नागरिकलाई अपिल गरिएको छ। सरकार, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण पेशागत संघसंगठन यस युद्ध मैदानमा होमिएर स्वास्थ्यकर्मीलाई सहयोग र सद्भाव उपलब्ध गराउन आग्रह गरिएको छ। 
Views: