d

असोजसम्म एक तिहाइ नेपालीलाई खोप दिईने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ : केही साता अघिसम्म कोरोनाविरुद्ध खोपको अभाव चर्को थियो । भारतमा कोरोनाको दोस्रो लहर उच्च भएपछि रकम बुझाई खरिद गरिएको खोप पनि आउन सकेन । खोप उत्पादक मुलुकले आफ्नै नागरिकलाई पहिलो प्राथमिकता दिएपछि नेपालजस्ता मुलुकका लागि खोपमा सहज पहुँच जटिल बन्यो तर अब भने खोप सहज बन्दै गएको छ ।

मित्रराष्ट्रबाट सहयोग, कोभ्याक्स सुविधा र खरिदमार्फत धमाधम खोप आउन थालेको छ । समग्रमा ६५ लाख मात्राभन्दा बढी खोप स्वदेश आइसकेको छ । थप खोपसमेत आउने प्रक्रियामा रहेकाले नेपालीलाई अब खोपको अभाव नहुने बरु प्रभावकारी व्यवस्थापनको आवश्यकता रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले हालसम्म नेपालमा ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको जानकारी दिए ।

अझै खोप आउने क्रममा रहेकाले नेपालमा खोपको अभाव नहुने जानकारी गराउँदै उहाँले भने, “जसरी नेपालमा खोप आइरहेको छ, त्यही अनुपातमा खोप आउँदा असोजसम्ममा एक तिहाइ जनसङ्ख्याले खोप पाइसक्छन् ।’ खोप निरन्तर आउने प्रक्रियामा रहेकाले अभाव नहुने स्पष्ट गर्दै प्रवक्ता पौडेलले नेपालमा हालसम्म आएको खोप खरिद गरेर ल्याइएको, अनुदान सहयोगमा आएको र कोभ्याक्स सुविधाअन्तर्गत आएको जानकारी दिए ।

नेपालमा केही दिनभित्रै ६४ लाख मात्रा खोप आउने जानकारी दिँदै उनले चीनसँग खरिद गरिएको ३२ लाख तत्काल आउने क्रममा रहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेटेर चीनले थप १६ लाख मात्रा खोप अनुदानमा दिने जानकारी गराए । यो खोप नेपालले खरिद गरेभन्दा बाहेकको हो ।

प्रवक्ता पौडेलका अनुसार अब जापानबाट थप १६ लाख मात्रा खोप आउँदै छ । यो खोप कोभ्याक्स सुविधाभन्दा छुट्टै रहेको बुझाइ छ । जापानबाट आउने खोप पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका १४ लाख वृद्धलाई दोस्रो डोज लगाउन मिल्ने भएकाले त्यसैअनुसार व्यवस्थापन गरिने छ । नेपाललाई प्रारम्भमै भारतले १० लाख र चीनले १८ लाख मात्रा खोप अनुदानमा दिइसकेको छ । चीनले सुरुमा आठ लाख मात्रा र दोस्रो पटक थप १० लाख मात्रा खोप अनुदानमा सहयोग गरेको थियो ।

आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

Views: