d

शिक्षक, विद्यार्थी, अविभावक र बिद्यालयको इमान्दार प्रयासमा मात्र सफल हुनसक्छ  अनलाइन कक्षा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 कोरोना भाइरसको जोखिम त्यति सहजै निर्मुल हुने अवस्था देखिएको छैन।  स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले तेश्रो लहरको संकेत देखिएको छ भने मन्त्रालयले विज्ञप्ती नै प्रकाशन गरेर संक्रमणको तेश्रो लहर आउने आशंका प्रकट गरेको छ।  

 

कोरोनाको दोश्रो लहर भयावह रुपमा फैलिए पछि गत चैत्र  देखिनै शिक्षण संस्थाहरु पूर्ण रुपमा ठप्प भएका छन्।  

 

भयावह परिस्थितिको अन्त्य हुने सम्भावना त्यती सजिलो पनि देखिको छैन।  

 

शिक्षण संस्थाहरु संचालनमा आउन नसक्दा बालवालिकाको पठनपाठनमा गम्भीर असर देखापरेको छ भने यही अवस्था रहिरहे मुलुकको शिक्षण पद्दतीनै धरापमा पर्ने खतरा अर्को तिर देखिन थालेको छ।  

 

अनलाइन कक्षा संचालन निर्देशिका जारी गरेको मन्त्रालयले गाउँघरमा अनलाइन सुबिधा नभएको बारेमा अनविज्ञता देखाउनु निकै दुखद पक्ष हो।   पठन पाठन गराउने भन्दै एकातिर निशुल्क सिमकार्ड वितरण गर्दै सामुदायिक बिद्यालयहरुको सक्रियता प्रशंसनीय नै मान्नु पर्छ।    यद्दपी अनलाइन कक्षा संचालन गर्नको लागि सिम कार्डले मात्र हुँदैन त्यसको लागि बिद्यार्थी संग मोबाइल वा ल्यापटपको पनि व्यवस्था हुनुपर्छ भन्ने विषयको बारेमा कोहि अनविज्ञ छैनन्।  

 

सामुदायिक बिद्यालयले अनलाइन कक्षा संचालन गरेको प्रति अहिले नै टिका टिप्पणी गर्नु उपयुक्त नहोला तर पनि यसबाट समग्र शैक्षिक गुणस्तर विकास हुन सक्छ सक्दैन भन्ने विषयले ढिलो चांडो चर्चा परिचर्चा नपाउने पनि होइन।  

 

अनलाइन कक्षाको बारेमा बहस गर्दै गर्दा इन्टरनेट सुबिधाको उपलब्धतालाई पनि मध्यनजर गर्नु पर्ने हुन्छ।  इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले कस्तो सेवा प्रदान गर्छन भन्ने विषयमा गम्भिर बहसको एकातिर आवश्यकता देखिको छ भने अर्को तर्फ इन्टरनेट पहुँच पुर्याउन सरकारी स्तर बाट विशेष पहल गरिनुपर्ने टड्कारो आवश्यकता छ।  

 

त्यसो त हिजोआज गाउँ घरमै इन्टरनेट सेवा पुग्न थालेको छ।  निजि सेवाप्रदायक कम्पनीहरु होडबाजी गर्दै व्यवसाय विस्तार गर्ने अभियानमा जुटेका छन्।  हाम्रो जस्तो अत्यन्तै अप्ठ्यारो भौगोलिक विविधता भएको मुलुकमा गाउँ गाउँमा इन्टरनेट सेवा पुर्याउन त्यति सहज पनि छैन।  इन्टरनेट सेवा पुगेतापनि वारम्बार लाइन जाने समस्याले गर्दा पनि बिद्यार्थीको अनलाइन कक्षामा उतिनै असर पारिरहेको हुन्छ। 

 

बिद्यार्थीमा मात्र होइन भने जस्तो मोबाइल वा ल्यापटप नहुँदा अनलाइन कक्षा सन्चालन गर्न शिक्षकलाई पनि उति नै समस्या देखिन्छ।  सामुदायक शिक्षकले त समयमा तलब सुबिधा पाएका होलान तर निजी शिक्षण संस्थामा कार्यरत अधिकांश शिक्षकले गत साल देखि कै तलब सुबिधा पाउन सकेका छैनन्।  एकातिर बेरोजगारीको समस्याले शिक्षकलाइ सताएको छ भने अर्को तिर अनलाइन कक्षा संचालन गर्न घरमा वाइफ़ाइ जोड्नु पर्ने र राम्रो खाले डिभाइस जोड्नुपर्ने पनि बाध्यता सिर्जना भएको छ।  

 

सहरी क्षेत्रका कतिपय निजी बिद्यालयहरुले गत असार देखि नै नियमित रुपमा अनलाइन कक्षा संचालन गर्न थालेका छन्।  तर गाउँ घरमा सिमित श्रोत साधनले चलेका बिद्यालयहरुले कसरी अनलाइन कक्षा चलाउने भन्ने चुनौतीको सामना गरिरहेको यथार्थ नै हो।  

 

हिजोआज बजारमा निकै महंगा महंगा अनलाइन कक्षा संचालन गर्ने सफ्टवेरहरु भित्रिएका छन्।  सफ्टवेर निर्माता कम्पनिहरुको  होडबाजी पनि उस्तै छ।  


मुलत अनलाइन कक्षालाइ व्यवस्थित गर्नको लागि तत्काल गर्नु पर्न कार्यहरु निम्न हुन सक्छन् :

 

१)  इन्टरनेट सेवा विस्तार गर्न कार्यबिधी तैयार गरेर युद्दस्तरमा कार्य अगाडी बढाउनु पर्ने। 
२)  प्राइभेट इन्टरनेट सेवा प्रदायक कम्पनीहरु समस्या पहिचान गरेर सस्तोमा इन्टरनेट सेवा प्रदान गर्न पहल गरिनु पर्ने। 
३)  शिक्षण सिकाइ क्रियाकलापमा प्रयोग गरिने विद्युतीय उपकरणहरु सस्तो मूल्यमा उपलब्ध गराइनु पर्ने। 
४)  निजी शिक्षण संस्थामा कार्यरत शिक्षकको समस्या स्थानिय तह मार्फत हल गर्न प्रयत्न गरिनु पर्ने। 
५) टेक्नोलोजीको ज्ञान र दखल भएका युवाहरुलाई हायर गरेर शिक्षणशिकाईमा आधुनिक टेक्नोलोजी जोड्न प्रयत्न गरिनु पर्ने। 
६)  अनलाइन कक्षालाई जवर्जस्ती संस्चालन गर्ने पद्दतीको अन्त्य गर्न नियमित अनुगमनको व्यवस्था गर्न स्थानिय तहलाई निर्देशन नै दिनुपर्ने। 

 

 अन्त्यमा,
अनलाइन कक्षा संचालन गर्नको लागि अभिभावक, शिक्षक, बिद्यालय र बिद्यार्थीको संयुक्त प्रयास हुने पर्छ। संक्रमणको असामान्य परिस्थितीमा मात्र होइन जुनसुकै समयमा पनि  अनलाइन कक्षा उत्तम विकल्प हुन सक्छ भन्ने इमान्दार सोच भएमा शिक्षण शिकाई नियमित मात्र हुने होइन यसबाट मुलुक आधुनिक टेक्नोलोजीको दुनियाँमा र्यापिडली प्रवेश गर्न पनि समय लाग्दैन।  

Views: