d

‘ओमिक्रोन’ संक्रमण भित्रिन नदिन नाकामा कडाइ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमित फेला परेपछि नेपालगन्ज नाकामा कडाइ गरिएको छ । कामका लागि भारतका विभिन्न सहर पुगेर स्वदेश फर्किने नेपालीको एन्टिजेन प्रविधिमार्फत परीक्षण गर्न थालिएको छ । योभन्दा पहिले समूहका एकजनाको मात्र परीक्षण गर्ने गरिएको थियो । 

स्वास्थ्य सेवा विभागले नाकामा रहेका हेल्थ डेस्कलाई भारतबाट फर्किने प्रत्येक नेपालीको परीक्षण गर्न निर्देशन दिएको हेल्थ डेस्क इन्चार्ज गीता गिरी शाहीले जानकारी दिइन् । उनले पहिले–पहिले समूहमा एकजनाको मात्र परीक्षण जाँच गरे पनि पछिल्लो समय सबैको परीक्षण गर्न थालिएको बताइन् । तर, सबैको परीक्षण गर्न कठिनाइ भइरहेको उनले बताइन् । ‘सबैलाई जाँच गर्न निर्देशन छ,’ उनले भनिन्, ‘तर, एकैपटक धेरैजना आउँदा भिडभाड सम्हाल्न गाह्रो हुन्छ ।’

पछिल्लो समय दैनिक सरदर दुई सयको परीक्षण हुन थालेको छ । जनशक्तिको अभाव रहेकाले पालैपालो जाँच गरेर पठाउने गरिएको छ । हेल्थ डेस्कभित्र प्रवेश गरेको एक घण्टाभित्र कोरोना परीक्षण रिपोर्ट दिने गरिएको शाहीले जानकारी दिइन् । ‘जतिसक्दो छिटो रिपोर्ट दिएर गन्तव्यतर्फ पठाउने हाम्रो प्रयास रहन्छ,’ शाहीले भनिन् । 

कोरोना परीक्षण रिपोर्ट भएकालाई मात्र प्रवेश अनुमति
सुरक्षाकर्मीले कोरोना परीक्षणको रिपोर्ट भएकाहरूलाई मात्र नेपाल प्रवेशमा अनुमति दिएका छन् । ‘भारत गएर फर्किने नेपालीले परीक्षण गरे–नगरेको हेरेर मात्र नेपाल प्रवेश गर्न दिएका छौँ,’ इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले नयाँ पत्रिकासँग भने । उनले भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेपछि नाकामा कडाइ गरिएको बताए । ‘एन्टिजेन रिपोर्ट भएकालाई मात्र नेपाल प्रवेश गर्न दिने गरेका छौँ, नभएकालाई कोरोना जाँचका लागि हेल्थ डेस्कमा पठाउने गरेका छौँ,’ उनले थपे, ‘भारतबाट ओमिक्रोन भित्रिन नदिन केन्द्रबाट आएको निर्देशनअनुसार कडाइ गरिएको हो ।’

भारतीयलाई पनि कोरोना परीक्षण अनिवार्य
नेपाल प्रवेश गर्ने भारतीय नागरिकले पनि नाकामा अनिवार्य रूपमा परीक्षण रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरिएको छ । नानपारा, बहराइचका भारतीयलाई भने जाँचविना नै नेपाल प्रवेश दिइएको छ । तर, लखनउ र त्योभन्दा टाढाबाट आएका भारतीयको कोरोना जाँच गरेर मात्र प्रवेश गर्न दिएको जमुनाह प्रहरी इन्चार्ज विष्टले बताए । नयाँ पत्रिका बाट ।

Views: