d

नेपाल ओमिक्रोनको जोखिममा कति छ ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

भारतमा फैलिरहेको ओमिक्रोनको संक्रमणलाई मुख्य आधार मान्दै सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन नेपाल पनि यसको जोखिममा धेरै मात्रामा रहेको बताउँछन्। नेपाल भित्रै ओमिक्रोन फैलने भन्दा पनि भारतबाट यसका संक्रमित भित्रने हो की भन्ने उनको अनुमान छ। 

उनी भन्छन्, ‘भारतसँगको खुल्ला सीमानाका कारण पहिलो र दोस्रो लहरमा पनि कोरोनाले समस्या ल्याएकै थियो। अहिले पनि भारतमा ओमिक्रोन फैलिरहेको जस्तो देखिँदा नेपाल पनि जोखिममै पर्छ।’

युनिभर्सिटी अफ हङकङको एक अध्ययनले डेल्टाभन्दा ओमिक्रोन ७० गुणा तीव्र गतिले फैलिने भएपनि धेरै घातक नभएको देखाएको थियो। अर्थात् डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोनले फोक्सोमा कम असर गर्ने गरेको डा पुन बताउँछन्। यसले गर्दा ओमिक्रोन तिव्र गतिमा फैलिएपनि गम्भीर खालको समस्या ल्याउने खतरा कम रहेको देखिएको उनले बताए।

भाइरसले निम्त्याउने लहरको क्रम चलेपनि संक्रमितको संख्या र अस्पताल व्यवस्थापनको समस्या ल्याउँछ/ल्याउँदैन भन्ने कुरा महत्वपूर्ण भएको उनी बताउँछन्। कोभिड १९ विरुद्धको खोप सबैको पहुँचमा पुग्दै गए र जनस्वास्थ्यका मापदण्ड पालना भए दोस्रो लहरको जस्तो अवस्था सिर्जना नहुने उनको अनुमान छ। 

उनले भने, ‘नेपालमा सबैलाई खोपको पहुँचमा ल्याउन सके र जनस्वास्थ्यका मापदण्ड पालना भए दोस्रो लहरमा देखिएको भयावह स्थिति अहिले हुँदैन की भन्ने मेरो अनुमान हो। किनभने दोस्रो लहरमा धेरै व्यक्तिले खोप पाएका थिएनन्। पूर्व तयारी थिएन। अनुभव थिएन।’

खोपले पूर्ण रुपमै ओमिक्रोन भेरियन्टलाई काम नगर्ने भन्ने कुरामा उनी सहमत छैनन्। भाइरस म्युटेसन हुँदैमा खराब नै हुन्छ भन्ने नै नहुने उनी बताउँछन्। यद्यपि अहिले नै ओमिक्रोनको बारेमा सहजै अनुमान लगाउन नसकिने उनले बताए। 

‘भाइरस म्युटेसन भएकाले खोपको प्रभावकारितामा केही कमी त आउँछ नै। तर पूर्ण रुपमा काम नै नगर्ने भन्ने कुरामा चाँही म विश्वस्त छैन’ उनले भने। स्वास्थ्य खबर।  

Views: