d

मैले तत्कालिन नगर अधिवेशनमा प्रस्तुत गरेको कार्यदिशा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टी 
दमक नगर समितिको अधिवेशन २०७७ मा प्रस्तुत कार्यदिशा
२०७७ चैत्र १४ शनिबार 

विश्व मानचित्रमा हिमवत्खण्डको केन्द्रमा अवस्थित सनातन धर्म संस्कृति र परम्पराको उदगमस्थल नेपाल आधुनिक विज्ञानले समेत सृष्टिको केन्द्र मानेको कैलास पर्वतको नजिकमा रहेको छ। विभिन्न धार्मिक ग्रन्थहरूमा वर्णित नेपाल पुर्विय दर्शन र संस्कृतिको केन्द्र हो। ऋषि, मुनि र महात्माहरु यहिका हिमाल, पर्वतहरुमा तप र ध्यान गरी ज्ञान प्राप्त गरेको शास्त्रहरुमा प्रमाण भेटिएको छ। विश्वकै पुरानो मध्येको एक देश नेपाल कहिले पनि कसैको अधिनस्थ नभई स्वाधिन र सार्वभौम मुलुक हो। आदिकालदेखि धर्म, शास्त्र र विद्वानहरुको मार्गमा संचालित देश परापुर्व कालदेखी सभ्य, सुसंस्कृत र जनहितकारी राज्यको रुपमा चिनिन्छ। विभिन्न वंशका राजाहरूले शासन गर्दा पनि जनप्रेम, सुशासन र विकास प्रमुख सिद्धान्तको रुपमा रहेको थियो।

जल, खनिज र जंगल जस्ता सम्पदाहरूको खानि यो देश पछिल्लो समय राजनैतिक अस्थिरता, विवाद र कुसाशनमा रुमल्लिएको छ। कृतिम समस्या र विवादहरु सिर्जना गरि विगतमा स्वाधिन रहेको नेपालमा हाल पाश्चात्य विस्तारवादी तत्व विभिन्न खोलमा सार्वभौमसत्ता माथि नै प्रहार गरी रहेको छ। त्यसैको आडमा नेपाल एकिकरण कर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशले संरक्षण गरिराखेको यो देशबाट हिन्दू अधिराज्य सहितको विकेन्द्रीत शासन प्रणालीको संसदीय व्यवस्था हटाइयो र संघिय लोकतान्त्रिक गणतन्त्र धोषणा गरियो।धर्म, वर्ण, लिंग, जातिका नाममा राजनैतिक अभिष्ट पुरा गर्दै सत्तामा पुगेका समाजवाद र साम्यवादको खोल ओडेका दलहरुले जनतालाई झुक्याएर गरिबी, अभाव, हत्या हिंसाको उत्साहन, भ्रष्टाचारको संस्थापन र विदेशीको दलालको काम गरिरहेका छन्। जसको फलस्वरूप जनसंख्याको एकतिहाइ जनता जिवनको सबैभन्दा उर्वर समय विदेशमा श्रम बेच्न बाध्य छन्।

यहि पृष्ठभूमिमा बि सं २०४७ जेठ १५ गते राष्ट्रवादी पार्टीको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना भएको थियो। बिभिन्न समयमा टुटफुट र सैद्धान्तिक विचलनले केही कमजोर रहेको पार्टी हालको राजनैतिक अनिस्चितामा एक वैकल्पिक शक्तिको रुपमा देखा परेको छ। हिन्दू अधिराज्य स्थापना, संघीयताको खारेजी र सुशासन सहित आर्थिक रुपमा सक्षम देश बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीको अबको लक्ष्य रहेको छ। यस महान लक्ष्य प्राप्तिका लागि देशभर पार्टी संगठन मजबुत क्रियाशील र सशक्त हुनु पर्दछ।

नेपालको सुदुर पुर्व मेचि अंचलको झापा जिल्लामा अवस्थित दमक नगरपालिका राष्ट्रिय प्रजातन्त्र पार्टीको निती, सिद्धान्त र विचारमा सहमत कार्यकर्ता अधिक रहेको देशकै अग्रणी नगर हो। दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी, कार्यकर्ता र मतका हिसाबले, कांग्रेस र कम्युनिष्ट दलहरु जत्तिकै सशक्त छ। तर केही आन्तरिक कमजोरीले निर्वाचनमा आशातित सफलता हासिल गर्न सकेको छैन। संभावना लाई परिणाम आउने गरी कार्यान्वयन गर्न आगामी नगर कार्य समितिले अबलम्बन गर्ने कार्यदिशा का केही कदमहरु हामीले तय गरेका छौं।

१. सांगठनिक संरचनाहरुको संस्थागत विकास: पार्टीको लक्ष्य, उदेश्य परिपुर्तिका लागि नगर समिति, वार्ड समिति, वर्गिय संगठनहरुको गठन, परिचालन तथा उनिहरुले बनाउने कार्ययोजना, तालिका र क्रियाकलापको अनुगमन, विष्लेषण र दिशा निर्देश गरि क्रियाशील बनाउने। बैठक, गोष्ठी, तालिम, जनपरिचालन तथा पार्टीका एजेण्डा स्थापित गर्न बिभिन्न क्रियाकलापको आयोजना गर्ने। 
नगर समितिको संस्थागत विकास गर्न आवस्यक फर्निचर, कम्प्युटर, संचार साधन र कर्मचारी सहितको नगर समितिको कार्यालय तुरुन्त संचालन गर्ने। दाताबाट नगर समितिको भवन बनाउन उपलब्ध गराइएको जग्गामा चाडै बिभिन्न निकायहरु संग समन्वय गरी उपयुक्त भवन निर्माण कार्य प्रारम्भ गरी यस कार्यकाल भित्र आफ्नै भबनमा कार्यालय संचालन प्रारम्भ गर्ने। 
नगर समितिले प्रत्येक महिनाको निश्चित दिन मासिक बैठक अनिवार्य गर्ने। मातहतका समितिलाई पनि सोही अनुसार गर्न मार्ग दर्शन गर्ने।

२. दलका एजेण्डाको उठान र क्रियाशीलता: पार्टीको लक्ष्य, उद्देश्य र अठोट स्थापित गर्न जनतामा उत्साह, समर्थन र एक्यबद्धता कायम गर्न बिभिन्न क्रियाकलापको आयोजना गर्ने। राजसंस्थाको पक्षमा, सनातन धर्म सापेक्षताको पक्षमा र विकेन्द्रीकरण सहितको स्वायत्त स्थानीय सरकार भएको राज्य प्रणाली स्थापना गर्न सशक्त कार्यक्रमको नियमित आयोजना गर्ने।

३. दलका नेता तथा कार्यकर्ताहरुको कार्य विभाजन तथा पदस्थापन: पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताहरुको उपयुक्त हुने जिम्मेवारी पहिचान गरि पार्टीका बिभिन्न तहका समिति, वर्गिय संगठनहरुमा पदस्थापन गर्ने। यस अतिरिक्त वडा देखि टोल तह सम्म समन्वय गरि पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणको सामुदायीक विद्यालय, मन्दिर, टोल विकास संस्था, सामुदायीक संस्था तथा अन्य निकायहरुमा पदस्थापन गर्न सकिने सम्भावनाको खोजी, छलफल तथा पहल गर्ने।

४. पारदर्शिता: नगर समिति तथा मातहतका निकायहरूको आन्तरिक निर्णय प्रक्रिया, प्रजातान्त्रिक अभ्यास र गरिने क्रियाकलापहरुको पारदर्शिता कायम गर्न। 
नगर समित तथा मातहतका समितिको आर्थिक पक्ष सबल बनाउन पारदर्शी लेखा प्रणालीको अबलम्बन, लेखा परीक्षण तथा निगरानी गर्ने।

५. तथ्याङ्क संकलन, संरक्षण र विष्लेषण: नगर समितिले नगरपालिकाका विविध पक्षको तथ्याङ्क, कार्यकर्ताहरुको सुची, मतदाता, अन्य दलहरुको अवस्था लगायत अन्य विभिन्न सुचना र तथ्याङ्क संकलन गर्ने, लेखा राख्ने र विषय विशेषज्ञ समेत राखी विष्लेषण गरी पार्टीको रणनीति तय गर्ने।

६. प्रशिक्षण र नेतृत्व विकास: पार्टी सबल र सक्षम भई सफल बन्न नेता तथा कार्यकर्ताहरुको नेतृत्व विकास क्षमता बढाउन आबस्यक छ। त्यसका लागि पार्टीले विभिन्न समिति, तह र तप्काका लागि आवश्यक तालिम विषय विज्ञहरु द्वारा प्रशिक्षण संचालन गर्न व्यवस्था गर्ने। प्रशिक्षण र तालिमहरु अझ औपचारिक, प्रभावकारी र जनहितकारी बनाउन तालिम सम्पन्न गरे पछि प्रमाणपत्र वितरण गर्ने। 

७. आवधिक योजनाहरुको तर्जुमा र कार्यान्वयन: नगर समिति र मातहतका निकायहरूले संचालन गर्ने क्रियाकलाप, कार्यक्रम र अभियानहरुको मासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक तथा वहु वर्षे योजना तयार गरी कार्यान्वयन गर्ने। सम्पन्न योजनाहरुको प्रतिवेदन तयार गरी प्रभावकारीता तथा उदेश्य परिपुर्ति भए नभएको विष्लेषण गर्ने।

८. निर्वाचन रणनीति तय तथा प्रशिक्षण: प्रजातान्त्रिक अभ्यास तथा देशको नेतृत्व गर्ने पार्टीको अवसर प्राप्त गर्ने एक मात्र उपाय निर्वाचनमा सफलता हासिल गर्ने हो। निर्वाचनमा सफलता हासिल गर्न राजनितीमा चाणक्य जस्तो चतुर र दुरदर्शी मार्गदर्शकको उचित मार्ग दर्शन चाहिन्छ। नगर समितिले अग्रज, विद्वान र शुभ चिन्तकहरु संग नियमित छलफल बहस गरी उपयुक्त रणनीति तय गर्ने। वार्ड, नगर, प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन अबका दुई बर्ष भित्रमा सम्पन्न हुने भएकोले तत्काल निर्वाचनका प्रक्रियाहरु, मतदाता नामावली संकलन देखि निर्वाचन परिणाम धोषणा सम्मका क्रियाकलापका बारेमा कार्यकर्ताको क्षमता विकास गर्न तालिम/प्रशिक्षणको आयोजना गर्ने। निर्वाचन हुनु पुर्व नै रणनीति तय गरि अन्य तयारी संगै दक्ष र कर्मठ कार्यकर्ता तयार गरी सक्ने। यसरी निर्वाचनमा प्रत्यक्ष खटिने कार्यकर्ताहरुको अभिलेख राख्ने, प्रसंशा र प्रोत्साहन गर्न विभिन्न उपाय अवलम्बन गर्ने।
९. आर्थिक सबलिकरण: पार्टीका विविध गतिविधि र क्रियाकलापको आयोजना गर्न आर्थिक श्रोतको उपलब्धता महत्वपूर्ण हुन्छ। आर्थिक स्थिति सुधार गर्न नगर समितिले तिन प्रमुख उपाय अवलम्बन गर्ने छ। 
क. सक्रिय सदस्यता शुल्क: नगर भित्रका पार्टीका आस्थावान कार्यकर्ताहरु वाट वार्षिक रुपमा (मासिक रु ५०) सदस्यता शुल्क संकलन गर्ने।
ख. चन्दा तथा सहयोग: पार्टीको हित चाहने शुभचिन्तक व्यक्ति तथा संस्थाहरुबाट सहयोगको आव्हान गरी रकम संकलन गर्ने।
ग. पार्टीको तर्फबाट राज्यका विभिन्न निकायमा निर्वाचित व्यक्तिहरुबाट निश्चित प्रतिशत रकम तय गरी रकम संकलन गर्ने।

१०. पुरस्कार र प्रोत्साहन: पार्टीका क्रियाकलाप, गतिविधिमा सक्रिय रहने उत्कृष्ठ कार्यकर्ता, अन्य कार्यहरुबाट देश, जनता र दलको हितमा कार्य गर्ने व्यक्ति समेतको पहिचान गरि प्रोत्साहन र पुरस्कृत गर्ने।

११. उपरोक्त कार्यदिशा अनुसार नगर समिति संचालन गरी नगरको पहिलो पार्टी बनाउन र आगामी निर्वाचनमा नगर प्रमुख, उप प्रमुख सहित कार्यपालिकामा बहुमत प्राप्त गर्न यस नगर अधिवेसन सभालाई सक्षम नेतृत्व चयन गर्न हार्दिक अनुरोध गर्दछौँ।

धन्यवाद।
 

Views: