d

चीनमा थपिंदै कोरोना संक्रमित, दुई करोडभन्दा बढी मानिस क्वारेन्टाइनमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चीनले ठूलो परिमाणमा लकडाउन गरेको छ । जसका कारण धेरै बहुराष्ट्रिय कम्पनीले यहाँ आफ्नो काम बन्द गर्नु परेको छ ।

लकडाउनको कारण करोडौ मानिसले प्रतिबन्धको सामना गरिरहेका छन् । जसमा जिलिन प्रान्त र टेक्नोलोजी हब शेन्जेनका मानिससहरूले पनि यसको सामना गरिरहेका छन् । 

यसपटकको लकडाउनलाई चीनको अहिलेसम्मकै ठूलो लकडाउनको रूपमा हेरिएको छ । यसबाट आर्थिक प्रभाव पनि परेको देखिन्छ । टोयोटा, फक्सवागन र एप्पलको सप्लायर फक्सकनआदि लकडाउनका कारण प्रभावित भएका कम्पनी हुन् । 

बन्दाबन्दीका कारण अत्यावश्यक वस्तुको आपूर्तिमा समेत समस्या हुने चिन्ता व्यक्त गरिएको छ ।

पाँच हजारभन्दा बढी संक्रमित 

मंगलबार चीनमा पाँच हजारभन्दा बढी संक्रमित भेटिएका छन् । यीमध्ये अधिकांश जिलिन प्रान्तका हुन्। सोमबार यस प्रदेशका दुई करोड ४० लाख मानिसलाई क्वारेन्टाइनमा राखिएको थियो ।

कोरोना महामारीको शुरुवातमा वुहान र हेबेईमा लगाइएको लकडाउनपछि सम्पूर्ण प्रान्तमा प्रतिबन्ध लगाइएको यो पहिलो पटक हो ।जिलिनका मानिसहरूलाई बाहिर घुम्न निषेध गरिएको छ। कसैले प्रदेश बाहिर जान चाहेमा प्रहरीको अनुमति लिनुपर्नेछ ।

त्यसको एक दिनअघि २ करोड ५० लाख जनसंख्या भएको दक्षिणी सहर शेन्जेनमा लकडाउन लगाइएको थियो ।

कम्पनीहरूले के भने ?

एप्पलका लागि आईफोन बनाउने फक्सकनले सोमबार शेन्जेनमा काम रोकेको छ । स्थानीय सरकारसँग परामर्श गरेर मात्रै काम सुरु गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले चीनको अर्को उत्पादन साइटबाट उत्पादनमा आएको कमीको पूर्ति गर्ने बताएको छ । जापानी कार निर्माता कम्पनी टोयोटाले जिलिन प्रान्तको चेङचुन सहरमा रहेको आफ्नो कारखाना बन्द गरेको छ । कम्पनीले कहिलेदेखि काम सुरु हुन्छ भन्ने बताएको छैन ।

जर्मन कार निर्माता फक्सवागनले पनि चेङचुनमा काम रोकेको छ । कम्पनीले फक्सवागन र अडी कारको उत्पादन प्रभावित हुने बताए पनि कम्पनीले बिहीबारसम्म कारखाना खोल्ने अपेक्षा गरेको छ । अर्थ डबलीबाट

Views: