d

 मौसम: कुन-कुन स्थानमा हुँदैछ भारी वर्षा ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर अवस्थित रहेको छ।

बुधबार बिहान देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बुधबार दिउँसो देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी, गण्डकी,बागमती र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। 

राती देशका केहि स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्विमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाई छ। 

जारी बुलेटिनमा भनिएको छ,  ‘सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’

बिहीबार पनि पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ।‍

महाशाखाका अनुसार शुक्रबार पनि पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  

Views: