d

प्रगती गर्दै प्राधिकारण: थप २ आयोजनाको विजुली लिन भारत तयार 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेपालबाट थप दुई आयोजनाको बिजुली निर्यात हुने भएपछि भारतसँग व्यापार घाटा कम हुँदै जाने आशा बढेको छ ।

२४.२५ मेगावाटको काबेली–बी (१) र १९.४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुली आयात गर्न भारत तयार भएपछि ऊसँगको व्यापार घाटा घट्ने भएको हो ।

अहिले पाँच महिनामै भारतसँग व्यापार घाटा ३ खर्ब ५२ अर्ब ८० करोड २९ लाख ६७ हजारको छ । विद्युत् उत्पादनमा वृद्धि भएपछि एलपी ग्यास र पेट्रोलियम पदार्थ आयात घट्दै जाने र त्यससँगै बिजुली निर्यातपछि हुने भारतीय मुद्रा आर्जनबाट व्यापार घाटा घट्दै जाने अपेक्षा गरिएको छ ।

भारत सरकारले थप दुई आयोजनासहित इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा करिब ४ सय ५२ मेगावाटबराबरको बिजुली भारत निर्यात हुने भएपछि व्यापार घाटा कम हुने अपेक्षा गरिएको हो ।

तथापि, अहिले हिउँदमा नेपाललाई नै बिजुली अपुग भएका कारण विद्युत् प्राधिकरणले भारतबाट बिजुली खरिद गरेर वितरण गरिरहेको छ । गर्मी र वर्षा सुरु भएपछि भने प्राधिकरणले भारतमा बिजुली निर्यात गर्नेछ ।

भारतमा विद्युत् निर्यात गरेर गत जेठदेखि मंसिरसम्म ७ महिनामा ११ अर्ब १६ करोड ३० लाखभन्दा बढी आम्दानी गरेको थियो । प्राधिकरणले १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् भारत निर्यात गरेको थियो ।

आगामी वर्ष २० अर्बबराबरको निर्यात लक्ष्य लिएको प्राधिकरणले वर्षामा देशभित्र खपत गरी बढी भएको विद्युत् भारतलाई बिक्री गर्ने गरेको छ ।

प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् १९ जेठ २०७९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।

सुरुमा दुई जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक ३ सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो ।

प्राधिकरणले गत १८ र ३० कात्तिकबाट थप २ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै आठ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारतर्फ निर्यात हुने विद्युत् स्वीकृति क्षमता ४ सय ८ मेगावाट रहेको थियो ।

मंगलबार काबेली ‘बी’ (१) र तल्लो मोदीको बिजुली भारतले किन्ने सहमति जनाएपछि १० आयोजनाबाट भारत निर्यात हुने र ४ सय ५२ मेगावाटको बिजुली दैनिक भारत निर्यात हुने भएको छ ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७८-७९ को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी २ अर्ब ८३ करोड ८८ लाख आम्दानी गरेको थियो ।

अहिले भने चिसो बढ्दा काठमाडौं उपत्यकालगायतको विद्युत् माग बढेको तर खोलानालामा पानीको बहाब घट्दा नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट उत्पादन कम भएसँगै विद्युत् निर्यात बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

उनका अनुसार देशभित्रको उत्पादन घट्दा हिउँदयामका करिब चार महिनाको विद्युत् माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्ने वाध्यात्मक अवस्था छ । घिसिङले वैशाख अन्तिम वा जेठको पहिलो हप्ताबाट फेरि विद्युत् निर्यात सुरु हुने जानकारी दिए ।

‘देशभित्रको उत्पादन घट्दा आन्तरिक माग धान्न दैनिक रूपमा विद्युत् आयात सुरु भएको छ, विद्युत् आयात करिब ४ महिनासम्म रहने हाम्रो प्रक्षेपण छ तर विद्युत् आयात परिमाण निर्यातभन्दा कम हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने । राजधानी दैनिकमा प्रकाशित समाचार।  


 

Views: