d

व्यापारीले चर्को व्याज तिर्नुपर्ने अवस्थाको अन्त्य हुनु जरुरी : मुख्यमन्त्री कार्की

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टने अवस्थामा पुगेको बताएका छन्  । उनले शनिवार मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालित प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा भने, “व्यवसायी ब्याजकै कारण भौँतारिनुपर्ने अवस्थाको सिर्जना भएको छ, बैंकिङ नीतिमा सुधार गरियोस् ।”

पछिल्लो समय बैंकमा सञ्चिती बढ्दै गएको उल्लेख गर्दै मन्त्री कार्कीले बैंकले राम्रा नीति बनाउने, राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याउने हो भने हाम्रो मुलुक आर्थिकरूपले विपन्न हुने दाबी गरे । उनले व्यापारीले चर्को ब्याज तिर्नुपर्ने अवस्था आएको भन्दै यस्तो अवस्थामा सुधार हुनुपर्नेमा जोड दिए ।

माघ २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाललगायत भारत, पाकिस्तान र बङ्गलादेशका गरी एक सय ७० स्टल राखिएको महोत्सव आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराईले जानकारी गराए । यस क्षेत्रको व्यापार, व्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको भट्टराईको तर्क छ ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीसहित प्रदेश सांसद उमाकान्त गौतम, शोभा चेम्जोङ पालुङ्वा, उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेल, पूर्वसांसद घनश्याम खतिवडा, विर्तामोड उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कुमार भट्टराई, जसपा नेपाल उर्लाबारीका अध्यक्ष मात्रिका धिमाल, सहकारी सञ्जाल उर्लाबारीका अध्यक्ष सीता कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा उर्लाबारीमा रहेका १७ जनजातिका सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । नौ दिनसम्म सञ्चालन हुने महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र रु २५ करोडको कारोबार हुने अपेक्षा गरिएको आयोजक उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष शेरबहादुर भण्डारीले बताए ।

उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गर्ने हेतुले आयोजना गर्न लागिएको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशका वस्तु र पहाडी जिल्लाका खनिजजन्य, स्थानीय कृषिजन्य र अन्य उत्पादनका स्टल राखिएको महोत्सवका सहसंयोजक प्रितम खड्गीले बताए । file photo

Views: