d

गौरादह ३ मा प्रथम पशु तथा कृषि प्रदर्शनी आयोजना PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery


सान नेपाल 

झापा: कुल जनसंख्याको ६० प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको मुलुकको वर्तमान सन्दर्भमा कुल गार्हस्थ उत्पादनको झण्डै २६ प्रतिशत हिस्सा कृषि क्षेत्रले ओगटेको छ । कृषिलाई आधुनिकीकरण गर्दै कृषि क्षेत्रमा विकास गर्न सक्दा आर्थिक समृद्धिको आधार नै कृषि हुनसक्ने राम्रै जानकारी हुँदा पनि राज्यले बलियो नीति निर्माण गर्न नसक्दा र अवलम्बन गरिएका नितिहरु लागुगर्न नसक्दा कृषि क्षेत्रमा सुधार  आउनुको सट्टा अझै संकटमा पर्दै गएको छ । मुलुक संघीय संरचनामा प्रवेश गरेर तीन तहको सरकार बनेता पनि कृषि क्षेत्रको हितमा दीर्घकालीन योजनाहरु ल्याउन सकेको भने छैन । 

No description available.

 

संघीय, प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्रमा आधारित कार्यक्रमहरु लागू गर्छन तर तीन तहका सरकारबिच आपसी समन्वय हुन नसकेकै कारण पनि कृषिजन्य उत्पादनमा उल्लेख्य  वृद्धि हुन सकेको पाइदैन  । उत्पादन लागतमा नियन्त्रण, उत्पादित सामाग्रीको भण्डारण एकातिर समस्याको रूपमा छ भने अर्कोतिर उत्पादित सामाग्रीले बजार नपाउदा समग्र कृषि क्षेत्र नै धरासायी हुँदै गएको छ । कृषि क्षेत्रलाई व्यवसायीकता प्रदान गर्नका लागि स्थानीय तहहरुले विभिन्न तालीम, गोष्टि, अन्तरक्रियाहरु संचालन गर्ने गरेको पाइन्छ । कृषकहरुलाई अनुदान दिने, आधुनिक कृषि उपकरणहरु उपलब्ध गराउने, कृषि तथा पशु सेवा कार्यालयहरु मार्फत निशुल्क परामर्श सेवा सुविधा र औषधि उपचारको प्रवन्ध मिलाउने, पशु तथा बाली बिमा कार्यक्रम संचालन गर्ने लगायतका कार्यमा स्थानीय तहले भुमिका खेल्ने गरेको पाइन्छ । 

No description available.

 


माथी उल्लेखित कार्यक्रमहरु समेत प्रभावकारी रूपमा संचालन गर्दै आएको गौरादह वडा नम्बर ३ ले यस वर्ष देखि कृषि तथा पशु प्रदर्शनी कार्यक्रम आयोजना गरेर कृषकहरूलाई थप उत्साहित बनाउने प्रयासको थालनी गरेको छ । पाडाजुँगी-गौरिगन्ज सडक खण्डको धोविनिया चोक उत्तर आयोजना गरिएको उक्त प्रदर्शनीमा स्थानीय किसानहरुको महत्त्वपूर्ण सहभागिता रहेको पाइएको छ ।

जेष्ठ १९ गते बिहान औपचारिक रूपमा शुरु गरिएको उक्त कृषि प्रदर्शनी जेष्ठ २० गते बेलुका ६ बजे सम्म संचालन हुने वडाध्यक्ष दिलिप भण्डारी बताउनुहुन्छ ।  

गौरादह नगर प्रमुख छत्रपती सुवेदी द्वारा उद्घाटन गरिएको कृषि प्रदर्शनीको उद्घाटन शत्रमा उपमेयर जलवर्षा राजवंशी, वडा नम्बर १ वडाध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारी, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराई, वडाध्यक्ष दिलिप भण्डारी, गौरादह उद्योग वाणिज्य संघ अध्यक्ष जेबी कार्की, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, संघ/संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । 

कृषि क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ, किसान कर्म गरेर पनि कसरी समृद्ध बन्ने सपना देख्न सकिन्छ भन्ने विश्वास दिलाउन कै लागि प्रदर्शनी आयोजना गरिएको वहाँको भनाइ छ । 

प्रदर्शनीमा स्थानीय उत्पादनहरु, स्थानीय उद्योग व्यवसायबाट उत्पादन गरिएका सामाग्रीहरु, कृषी फसलहरु, कृषि उपकरण लगायतको प्रदर्शनी गरिएको छ । पशु प्रदर्शनी समेत आयोजना गर्ने भनिएता पनि पशुधनमा महामारीको रूपमा फैलिएको लम्की स्किन रोगको संक्रमण बढ्न सक्ने खतरा महसुस गरि पशु प्रदर्शनी लाई भने स्थगन गर्नु परेको आयोजक समितिले जनाएको छ ।
प्रथम पशु कृषि प्रदर्शनी संचालन समितिको आयोजनामा शुरु भएको प्रदर्शनीमा २३ वटा व्यवसायीक स्टल र ७ वटा समुहगत स्टलहरु रहेका छन् ।   प्रदर्शनी कार्यक्रममा फर्निचर तथा फर्निसिङ व्यवसायी संघको मुख्य समन्वय वडा कार्यालयको ढुवानी समन्वयमा काठजन्य बन पैदावरका विरुवाहरु वडा नम्बर ३ का किसानलाई लक्षित गरि एक घरपरिवारको लागि १० थान बिरुवा निशुल्क रूपमा वितरण प्रवन्ध मिलाइएको छ ।

 त्यस्तै फाइकस बायोटेक प्रालि गौरादह २ द्वारा टिस्स्यु कल्चर प्रविधि द्वारा उत्पादित विभिन्न जातका विरुवाहरुको प्रदर्शनी तथा विक्री वितरण, श्रीकृष्ण नर्सरी गौरादह ४ का उत्पादनहरु बिक्री वितरण, ढुंगाना एग्रोभेट बाट उत्पादित विभिन्न जातका च्याउ तथा च्याउको बीउ, महारानी झोडा साना किसानका बीउ बिजनहरु,  कालो चामल हुने धानका बिउहरु, कामाक्षा ट्रेड लिंक प्राली गौरादह द्वारा ट्र्याक्टर, थ्रेसर प्रदर्शनी, गौरादह नगरपालिकाको पशु र कृषि शाखा द्वारा निशुल्क परामर्श सेवा, गौरादह कृषि क्याम्पसको कृषि प्रदर्शनी, गौरादह सानाकिसान महिला कृषि सहकारी संस्था, कृषि संसार नेपाल बिर्तामोड, सगरमाथा मुल कृषक समूह गौरादह, बंगुर पालक कृषक समूह, हाटबजार एप्स लगायतले प्रदर्शनी कार्यक्रममा सहभागीता जनाएका छन् ।

यस बाहेक  लौका भिन्डी, मकै, करेला, धान लगायत कृषि उपजहरुको प्रदर्शनी तथा बीउ साढे गोरु, ६ वटा पाठा सहितको बाख्रीले प्रदर्शनीलाई थप आकर्षण प्रदान गरेको छ । 

वडा कार्यालयको ८० हजार ६१ बराबरको आर्थिक सहयोगमा संचालित कार्यक्रममा गौरादह उद्योग वाणिज्य संघले समेत आर्थिक सहयोग गरेको आयोजक समितिका संयोजक बिसाल धमलाले बताए ।  

Views: