d

पत्रकार भाइलाई सन्देश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पत्रकार भाइ !
म तिम्रो टेलिभिजनको अन्तरवार्ता हेर्दिन 
माफ गर है ! 
त्यहाँ तिमी मालिकका आवाजहरु सुनाउँछौ
त्यहाँ तिमी हाकिमका गुणगानहरु गाउँछौ
चम्किलो जिल्दा बेरेका किताबका आदर्शहरु
आडम्बरी चन्दन् घसेका 
महङ्गा महलमा बसेका
पैसाको सान बोकेका
नक्कली दुनियाँ घोकेका
फोहोरी अन्तरङ्गका
सुकिला मान्छेहरुको फोस्रो मान लगाउँछौ
त्यसैले 
म तिम्रो टेलिभिजनको अन्तरवार्ता हेर्दिन । 

तिम्रो प्राथमिकतामा
सर्वजनिक बसका खलाँसीहरु पर्दैनन्
जो आफ्नु रुप परिवर्तनको होसै नराखी बाँचिरहेछन्
दिन छिचोल्दै प्रतिध्वनि गुड्दै गएका 
पुलिस जवानहरु पर्दैनन्
खेतीले भत्काएका किसानहरु पर्दैनन्
प्रतिक्रियाले थलिएका पियनहरु पर्दैनन्
अचल आकृतिका बुट पलिसहरु
बजार कुनाका बगरेहरु
मक्किएको भित्ताका रक्षकहरु
अभाव भोकका भक्षकहरु
सबै सबै तिम्रो अन्तरवार्तामा छैनन्
त्यसैले
म तिम्रो टेलिभिजनको अन्तरवार्ता हेर्दिन । 

पत्रकार भाइ !
तिमी ठ्यक्कै मेरो देश जस्तै छौ
होइन होइन
तिमी मेरो देशको ब्यबस्था जस्तै छौ
मेरो राष्ट्रपति र मेरो प्रधानमन्त्री जस्तै छौ
तिमी मेरो देशको सत्ताधारी नेता र विपक्षी नेता जस्तै छौ
तिमी न्याय कानुनका ठेकेदार जस्तै छौ
जो सँधै सुकिलाहरुलाई हेर्छन्
मालदारहरुलाई घेर्छन्
शहरका विश्वविद्यालयमा पढाउँने प्राध्यापक
गाउँका कलेजमा पढाउँने मास्टर
शहरका कवि गाउँका कविते
यस्तै छ तिम्रो परिभाषा
ठ्याक्कै ! मेरो देशको ब्यबस्थाको जस्तै
त्यसैले
म तिम्रो टेलिभिजनको अन्तरवार्ता हेर्दिन ।

Views: